पुरिएका मध्ये छ जनाको शव फेला, तीनको खोजी जारी

रासस

आइतबार, ३२ जेठ २०७७, १२ : १६
पुरिएका मध्ये छ जनाको शव फेला, तीनको खोजी जारी

– लक्ष्मीप्रसाद सापकोटा
पर्वत । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका नौमध्ये छ जनाको शव भेटिएको छ भने अझै तीन बेपत्ता  छन् । घरभन्दा माथिवाट आएको पहिरोले दुई घर पुरिँदा दुई परिवारका नौ जना पुरिएका हुन् ।  पहिरोमा पुरिएकामध्ये ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापा, दीपा थापा तथा  कमला विक र प्रमिशा विकको शव भेटिएको हो ।
 
थप तीन जनाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका सम्राट थापा, विवेक थापा र  जेनिस विकको खोजीकार्य जारी रहेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिनुभयो ।  नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी बल र स्थानीयवासीले उद्धारलाई जारी राखेका छन् । 

राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । बिहानबाट पुनः उद्धारकार्य शुरु भएको कुश्मा नगरपालिका–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताउनुभयो । शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानी पछि पहिरो गएको हो । पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन् । स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको थियो ।  (रासस)