‘कोरोना संक्रमण हुन नदिन मास्क लगाए सुरक्षित हुन सकिन्छ’

पत्रपत्रिकाबाट

आइतबार, ३२ जेठ २०७७, ०८ : २२
‘कोरोना संक्रमण हुन नदिन मास्क लगाए सुरक्षित हुन सकिन्छ’

काठमाडौँ । सरकारले लकडाउन खुकुलो पारेसँगै कोभिड–१९ संक्रमणको जोखिम बढेकाले घरबाहिर निस्किँदा मास्क अनिवार्य लगाउन विज्ञहरुले सुझाव दिएका छन् । मास्क लगाउँदा जोखिमबाट जोगिन सकिने उनीहरुको भनाइ छ । कोभिड–१९ संक्रमणका कारण विभिन्न मुलुकमा घरबाहिर निस्किँदा मास्क अनिवार्य गरिएको छ । नेपाल सरकारले पनि जनचेतना मुलक सन्देशहरुमा घरबाहिर निस्किँदा मास्क लगाउन अनुरोध गर्दै आएको छ ।

‘सरकारले मास्कको प्रयोग अनिवार्य गरेको छैन तर स्वास्थ्य मन्त्रालयले सावधानीका लागि घरबाहिर निस्किँदा मास्क लगाउन आग्रह गर्दै आएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘मेडिकल मास्क स्वास्थ्यकर्मी, उच्च जोखिम भएकाहरुलाई मात्र उपयोग गर्न प्रोत्साहन गरेका छौं ।’ उनले संक्रमणबाट जोगिन तीन तहको कपडाको मास्क प्रयोग गर्न सकिने बताए । ‘मास्क नपाइने ठाउँमा सफा गम्छा तीन तह बनाएर नाक मुख राम्ररी छोप्दा केही हदसम्म संक्रमण सर्नबाट जोगिन सकिन्छ,’ डा. अधिकारीले बताए ।

स्वास्थ्य मन्त्रालयका इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले सबै व्यक्तिले मास्क अनिवार्य प्रयोग गर्दा संक्रमण विस्तार रोक्न सहयोग पुग्ने बताए । ‘घरमा बनाइएको कपडाको मास्कले पूर्ण सुरक्षा दिँदैन तर संक्रमित व्यक्तिबाट निस्किएको कोरोना भाइरससहित थोपालाई श्वासप्रश्वास प्रणालीमा कम प्रवेश गराउँछ,’ उनले भने ।

घरबाहिर निस्किनेहरुमा धेरैजसोले कपडाको मास्क वा मेडिकल मास्क लगाइरहेका छन् । कसैकसैले एन–९५ जस्ता मास्कसमेत लगाउने गरेको भेटिन्छ । कोभिड–१९ विरुद्घको लडाइमा मास्कको उपयोग धेरै महत्त्वपूर्ण भए पनि यो मात्रै पूर्ण होइन । ‘मास्क लगाएसँगै कम्तीमा २ मिटरको व्यक्तिगत दूरी राख्नु, साबुनपानीले नियमित हात धुनु, हातले अनावश्यक सतह र नाक मुख नछुनुसमेत महत्त्वपूर्ण छ,’ डा। अधिकारीले भने । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस