लकडाउन खुकुलो बनाउने गृहकार्य अन्तिम चरणमा

पत्रपत्रिकाबाट

मंगलबार, २७ जेठ २०७७, ०७ : १५
लकडाउन खुकुलो बनाउने गृहकार्य अन्तिम चरणमा

काठमाडौँ l कोरोना संक्रमणको जोखिम बढ्न नदिने स्थितिलाई विस्तार गर्दै स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर विस्तारै सहजीकरण गर्ने गृहकार्यको सरकार अन्तिम चरणमा पुगेको छ ।

त्यसका लागि १० चरणमा लकडाउनलाई खुकुलो बनाउन अघि सारिएको प्रस्तावमाथि अन्तिम गृहकार्य भइरहेको बताइएको छ । असार १ बाट लागू हुने गरी अघि सारिएको उक्त प्रस्तावलाई स्वास्थ्य क्षेत्रका प्राविधिक तथा चिकित्सकहरुले अध्ययन गरिरहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए । 

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तयार पारेको १० चरणको लकडाउन मोडालिटीलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित सबै सुरक्षा अंगका प्रमुखहरु र विभिन्न मन्त्रीहरुबीच उक्त प्रस्तावलाई लिएर छलफल भएको थियो । छलफलका आधारमा १० चरणको लकडाउन खुकुलो बनाउने मोडालिटीलाई थप परिष्कृत गर्न लागिएको सचिव विडारीले जानकारी दिए । कान्तिपुर दैनिक मा खबर छ ।  

प्रतिक्रिया दिनुहोस