श्रीमतीले गरिन श्रीमानको हत्या

रासस

सोमबार, २६ जेठ २०७७, ०९ : ५०
श्रीमतीले गरिन श्रीमानको हत्या

सल्यान । सल्यानमा एक महिलाले आफ्नै श्रीमान्को हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आइतबार राति ८ बजेतिर आफ्नै घरमा काठ चिर्ने फलामको प्रहारबाट गम्भीर घाइते भएका घर्तीको सल्यान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

हत्या आरोपमा श्रीमतीलाई इलाका प्रहरी कार्यालय लुहाममा राखिएको खतिवडाको भनाइ छ । घटना बारेमा थप अनुसन्धान भइरहेको र मृतक घर्तीको शव परीक्षणपछि घटनाको थप विवरण आउने प्रहरीले जनाएको छ । (रासस)