म्यान्मार र यूएईले आफ्नै खर्चमा नेपाली फिर्ता गर्दै, १ सय ९४ नेपाली आज फर्किंदै

पत्रपत्रिकाबाट

शुक्रबार, २३ जेठ २०७७, ०६ : २९
म्यान्मार र यूएईले आफ्नै खर्चमा नेपाली फिर्ता गर्दै, १ सय ९४ नेपाली आज फर्किंदै

काठमाडौं । खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) र बिम्स्टेक सदस्य मुलुक म्यान्मारले आफ्नै खर्चमा १ सय ९४ जना नेपालीलाई स्वदेश फर्काउँदैछ। यूएईले एक सय ६८ र म्यानमारले २६ जना नेपाली पठाउन लागेको हो। उनीहरू शुक्रबार (आज) काठमाडांै आइपुग्दै छन्। फर्किएकाहरूको हवाई खर्च नेपाल सरकारले व्यहोर्नु पर्दैन।

म्यान्मार र यूएईले कोरोना भाइरस संक्रमण फैलिएपछि ती मुलुकमा अलपत्र परेकामध्ये १ सय ९४ नेपालीलाई आफ्नै खर्चमा ल्याइदिने भएका हुन्। यूएईले आफ्नोमा अलपत्र परेकालाई फर्काउन डेढ महिनाअघि नै सरकारलाई पत्राचार गरेको थियो। म्यानमारमा अलपत्र परेकालाई भने सेनाको पहलमा फिर्ता हुन लागेको परराष्ट्र अधिकारीले जनाए।

म्यान्मारबाट २६ जना नेपाली ल्याउन नेपाली ल्याउन परराष्ट्र मन्त्रालयको पहलसँगै सेनाले त्यहाँको सेनासँग आग्रह गरेको अधिकारीहरूले बताए। नेपाली सेनाको आग्रहलाई स्विकार्दै म्यान्मारको सेनाले आफ्ना दुईवटा विशेष जहाजबाट त्यहाँ अलपत्र परेका नेपालीलाई ल्याउन तयार भएको हो। म्यान्मारले आफ्नो सेनाको दुई वटा विशेष जहाजबाट २६ जना नेपाली ल्याउँदै छ। म्यान्मारबाट नेपाली लिएर उडेको सेनाको विशेष जहाज शुक्रबार बिहान ९:५० र १०:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ।

यूएईबाट १ सय ६८ जना नेपाली लिएर एयर अरेबियाको चार्टड विमान शुक्रबार अपराह्न काठमाडौंमा अवतरण हुनेछ। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले म्यान्मार र यूएईबाट आउने नेपालीलाई व्यवस्थापन गर्ने प्रक्रिया पूरा भइसकेको बताए। विमानस्थल ओर्लिएपछि उनीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिनेछ। स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको शंका भएमा त्यस्ता व्यक्तिलाई सीधै कोभिड अस्पताल लगिनेछ। अन्नपूर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस