अमेरिकामा हिंसात्मक प्रदर्शन रोकिएन, ४ प्रहरीलाई हत्याको अभियोग

एजेन्सी

विहीबार, २२ जेठ २०७७, १० : ३४
अमेरिकामा हिंसात्मक प्रदर्शन रोकिएन, ४ प्रहरीलाई हत्याको अभियोग

काठमाडौं । अमेरिकामा प्रहरी नियन्त्रणमा मृत्यु भएका अश्वेत व्यक्तिको पक्राउको क्रममा संलग्न ४ जना प्रहरी अधिकृतलाई नयाँ अभियोग लगाईएको छ । घटना भएको मिनियापलिसका प्रहरीलाई यो अभियोग लगाईएको हो । 

अदालतका दस्तावेजमा प्रहरी अधिकारी डेरेक शोभिनविरुद्ध पूर्वयोजना विनाको आशययुक्त हत्याको अभियोग लगाइने भएको बीबीसीले जनाएको छ। शोभिनविरुद्ध यसअघि विना पूर्वयोजना पारिस्थितिक कारणले  अश्वेत व्यक्ति जर्ज फ्लोइडको हत्या भएको अभियोग लगाइएकोमा अब उनलाई पूर्वयोजनासहित नियतवस नै फ्लोइडको हत्या गरिएको अभियोग लगाइने भएको हो ।

यसअघि अभियोग नलागेका अन्य तीन प्रहरीमाथि गैरकानुनी काममा उक्साएको र मतियार बनेको आरोप लगाइएको छ।
प्रहरी अधिकारीहरूमाथि नयाँ अभियोगहरूको घोषणा गर्दै मिनेसोटा राज्यका महान्यायाधिवक्ता किथ एलिसनले ती अभियोगहरू न्यायको पक्षमा भएको बताए।

फ्लोइडको मृत्युले अमेरिकाभर रंगभेद आन्दोलनले उग्ररूप लिएको छ भने उनले न्याय पाउनु पर्ने मागसहित अमेरिकाबाहिर पनि प्रदर्शनहरू सुरू भएका छन् । अस्ट्रेलिया, फ्रान्स, नेदरल्याण्डस् र बेलायतमा प्रदर्शन गरिएको छ । आठ दिनदेखि अमेरिकाका विभिन्न शहरहरूमा कर्फ्यूको वेवास्ता गर्दै प्रदर्शनहरु भइरहेका छन् । ती प्रदर्शनहरूमा आगजनी, तोडफोड र लुटपाटका घटना भइरहेका छन् ।