जनस्वास्थ्य संकटकाल घोषणा भएमा के हुन्छ ?

पत्रपत्रिकाबाट

विहीबार, २२ जेठ २०७७, ०७ : ४३
जनस्वास्थ्य संकटकाल घोषणा भएमा के हुन्छ ?

काठमाडौं । सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । कोरोना भाइरस संक्रमितको संख्या २ हजार नाघेसँगै सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने रणनीति बनाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘कोभिड–१९ स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजना’ मा २ हजार सक्रिय केस पुगेपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्न सकिने उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणा सम्बन्धमा छलफल गर्दै आएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले गत ११ चैतदेखि लकडाउन गर्दै आएको छ ।

संकटकाल घोषणा भएमा के हुन्छ ?
– लक्षणविहीन संक्रमितलाई घर या क्वारेन्टिनमा राखिने
– सबै अस्पतालले कोरोना संक्रमितको उपचार गर्नुपर्ने
– द्रुत प्रतिकार्य टोली तथा आपतकालीन चिकित्सकीय समूह खट्ने

५ हजारदेखि १० हजार संक्रमित देखिएमा आठ हजार जनालाई आइसोलेसनको आवश्यकता पर्ने र २ हजार जनालाई आईसीयू र भेन्टिलेटरसहितको स्वास्थ्य सेवा आवश्यक पर्ने योजनामा उल्लेख छ ।

कोरोना भाइरस पोजेटिभ देखिए पनि कोरोनाबाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड–१९ वाट मृत्यु भएको नमानिने भएको छ । यसअघि मृत्यु हुँदाको बखत कोरोना संक्रमण देखिएको व्यक्तिलाई कोभिड–१९ का कारण मृत्यु भएको मानिँदै आएको थियो । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ (पहिलो संशोधन २०७७) बनेसँगै अन्य कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड–१९ का कारणले मृत्यु भएको नमानिने भएको हो ।

कार्यविधिमा भनिएको छ, ‘कोभिड १९ निगरानी प्रयोजनका लागि कोभिड १९ बाट मृत्यु भन्नाले कुनै अन्य स्पष्ट र कोभिड १९ सँग सम्बन्धित नहुने (जस्तैः गम्भीर चोटपटक) र क्लिनिकल चिह्न, लक्षणहरु र निदानका आधारमा सम्भावित वा पुष्टि भएका केशहरुलाई भन्ने बुझ्नुपर्छ ।’

कोभिड–१९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्म अवधि विचमा निज पूर्णतः निको नभएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।
कोभिड–१९ संक्रमण पुष्टि भई मृत्यु भएमा शववाहनबाहेक खटबाट समेत बोक्न सक्ने व्यवस्था संशोधन गरिएको कार्यविधिमा समेटिएको छ । सकेसम्म मृत शरीर शववाहनमै ल्याउनुपर्ने र शववाहन नभएको स्थानमा शव बोक्न प्रयोग हुने साधन (खट) बोक्ने व्यक्तिले मृत शरीरले छुन नसक्ने गरी व्यवस्था मिलाउनु पर्नेछ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस