९ लाख नेपाली फर्कने अनुमान, स्वदेश फर्कनेलाई जिल्ला पु-याउने जिम्मा सेनालाई

पत्रपत्रिकाबाट

मंगलबार, २० जेठ २०७७, ०७ : ०४
९ लाख नेपाली फर्कने अनुमान, स्वदेश फर्कनेलाई जिल्ला पु-याउने जिम्मा सेनालाई

काठमाडौं । विभिन्न कारणले विदेशी भूमिमा पुगेका र कोरोना संक्रमणको सन्त्रासपछि स्वदेश फर्कन चाहनेहरूको विवरण संकलन गरिरहेको सरकारले करिब ९ लाख नेपाली स्वदेश फर्कने अनुमान गरेको छ ।

सरकारले १२ जेठको मन्त्रिपरिषद् निर्णयमार्फत भारतबाट स्वदेश फर्कन चाहनेहरूका लागि २० वटा नाका खुला गरेको छ भने अन्य मुलुकबाट आउन चाहनेहरूका लागि प्राथमिकता तोकेको छ । सरकारले भारतका २० नाकाबाट गरी करिब ५ लाख तथा भारतबाहेकका अन्य मुलुकबाट करिब ४ लाख गरी ९ लाखको हाराहारीमा नेपालीहरू स्वदेश फर्कने अनुमान गरेको हो ।

‘भारतबाट नेपालीहरू फर्कने क्रम जारी छ । अब करिब ५ लाखको हाराहारीमा भारतबाट र भारतबाहेक अन्य मुलुकबाट ४ लाख गरी करिब ९ लाख नेपाली फर्कने सरकारको अनुमान छ । सेनालाई सोहीअनुसार तयारी गर्न भनिएको छ,’ एक मन्त्रीले राजधानीसँग भने ।

सरकारले मन्त्रिपरिषद् बैठकबाट विदेशबाट आउनेहरूको व्यवस्थापन र उनीहरूलाई घरसम्म पु¥याउन सेनालाई खटाउने निर्णय गरिसकेको छ । सेनाले नै विमानस्थल र भारतसँगका नाकाबाट भित्रने नागरिकहरूलाई होल्डिङ सेन्टरसम्म लैजानेछ । यस्तै, होल्डिङ सेन्टरबाट विभिन्न प्रक्रिया पूरा गरेर जिल्लासम्म पु-याइनेछ ।

भारतबाहेकका मुलुकबाट आउनेहरूका लागि सरकारले १५ वटा प्राथमिकता तोकेको छ । जसअनुसार सजायबाट आममाफी पाएका, डिटेन्सन सेन्टरमा रहेका र नेपाल आउन अनुमति प्राप्त भइसकेका, बर्हिगमन भिसामा परेका, काजकिरियाका लागि फर्कनुपर्ने, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, कोभिडबाहेक अन्य कारणबाट गम्भीर स्वास्थ्य समस्या भएकाहरू स्वदेश फर्कन पाउनेछन् ।

यसैगरी, सुत्केरी तथा गर्भवती महिला, बाललबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका, सरकारी सेवामा रही अध्ययन वा तालिमका लागि विदेश पुगेका, अध्ययन समाप्त भएका विद्यार्थी, फर्कनैपर्ने अवस्थामा रहेका अध्ययनरत विद्यार्थी, परिवार भेटघाटका लागि गएका, कम्पनीबाट रोजगारीसहित बिदा सुविधा पाएका, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत रहेका तथा पर्यटक भिसामा विदेश पुगेकाहरू स्वदेश आउन पाउनेछन् । तर, कोरोना संक्रमण पुष्टि भएकाहरू भने संक्रमण ठीक नहुन्जेल फर्कन पाउनेछैनन् ।

विदेशबाट फर्कने नागरिकहरूको विदेशस्थित नेपाली दूतावासमार्फत विवरण संकलन भइरहेको छ । यसरी फर्कन चाहनेहरूले कोभिड नभएको स्वास्थ्य परीक्षणको प्रमाण पेस गर्नु पर्नेछ । भारतबाट आउनेका लागि तोकिएका नाका नजिकै होल्डिङ सेन्टर बनाइनेछ । सामुदायिक विद्यालय, सामुदायिक भवन, कभर्ड हल, पार्टी प्यालेस वा अन्य खुला ठाउँमा होल्डिङ सेन्टर राख्ने सरकारको तयारी छ । राजधानी दैनिकमा खबर छ ।