जुन र अगस्तमा कोरोना संक्रमण ह्वात्तै बढ्न सक्ने, १० हजार भेन्टिलेटर ‘स्ट्यान्डबाई’ राख्न चिकित्सकको सुझाव

पत्रपत्रिकाबाट

सोमबार, १९ जेठ २०७७, ०८ : २७
जुन र अगस्तमा कोरोना संक्रमण ह्वात्तै बढ्न सक्ने, १० हजार भेन्टिलेटर ‘स्ट्यान्डबाई’ राख्न चिकित्सकको सुझाव

काठमाडौं । नेपालमा आगामी तीन महिनासम्म कोरोना भाइरस संक्रमणको दर अझै बढ्ने र संक्रमित गम्भीर अवस्थामा पुग्न सक्ने भएकाले कम्तीमा १० हजार भेन्टिलेटर स्ट्यान्डबाई राख्नुपर्ने स्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा चिकित्सकले सरकारलाई सुझाव दिएका छन् । अहिले देशभरमा १ हजार ५ सय ९५ आइसीयू बेड र ८ सय ४० वटा भेन्टिलेटर मात्रै छन् ।

पछिल्लो समयमा नेपालमा कोरोना भाइरस संक्रमणको दर एक्कासि बढ्दै जान थालेकाले यसले भयावह रूप लिन सक्ने भन्दै सरकारले विशेष सतर्कता अपनाउनुपर्नेमा अनुसन्धानकर्ताले जोड दिएका हुन् । चीनको योङ्ची मेडिकल कलेज वुहानका रिसर्च स्कलर डा. रमेश आचार्यले नेपालमा आगामी तीन महिना (जुन, जुलाई र अगस्ट) मा जोखिम अझै बढेर जान सक्ने र भेन्टिलेटरको अभावमा मृत्युदर बढ्न सक्ने भन्दै कम्तिमा १० हजार भेन्टिरलेटर स्ट्यान्डबाई अवस्थामा राख्नुपर्ने सुझाव दिएका छन् ।

‘भारतसँगको सीमा नाका व्यवस्थापन गर्न नसक्दा हजारांको संख्यामा संक्रमित नेपाल भित्रिसकेका छन्, उनीहरूकै कारण नेपालमा जोखिम अझै बढेर जाने देखिएको छ,’ डा. आचार्यले  भने । ‘नेपालका लागि आगामी जुन, जुलाई र अगस्ट अत्यधिक चुनौतीपूर्ण छ । सरकारी निकायले रातदिन नभनी परिणाम निस्कने गरी काम गर्नुपर्छ,’ वुहानदेखि नै कोरोना भाइरसको जोखिम र बच्ने उपायबारे अध्ययन गर्दै आइरहेका डा। आचार्यले भने ।

आचार्यले संक्रमणसँग जुध्ने सरकारको हालको तयारी निकै फितलो भएको बताउँदै सरकारले अहिलको जस्तै काम चलाउ तयारी गरेमा आगामी तीन साताभित्र स्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिए । ‘फितलो सतर्कता, ट्रेसिङ र टेस्टिङ प्रभावकारी हुन नसक्दा समस्या झनै बढेर गएको छ,’ आचार्यले भने । डा. आचार्यले भावी संकटबाट बच्न कम्तीमा १० हजार चिकित्सक, ५० हजार नर्स, ढेड लाखको संख्यामा युवा स्वयंसेवी आवश्यक पर्ने बताए ।

आचार्यले सीमा क्षेत्रमा तत्काल अस्थायी अस्पताल बनाउनुपर्ने बताए । अनुसन्धाताका अनुसार नेपालमा कम्तिमा सयवटा पीसीआर मेसिनबाट टेस्ट विस्तार गर्नुपर्छ । भारतीय सीमा क्षेत्र जोडिएका जिल्लामा कम्तिमा ५० हजार पीसीआर टेस्ट र १ लाख आरडीटी टेस्ट गर्नुपर्छ । डा। आचार्यले अब ७७ वटै जिल्लालाई हाई रिस्क जोनमा राखी सबै किसिमका सुरक्षा विधि अपनाउन आवश्यक रहेको बताए । आचार्यले विगत तीन साताको समयमा भारतबाट १ लाख १९ हजार नेपाली स्वदेश फिर्ता भइसकेको र उनीहरुलाई व्यवस्थित क्वारेन्टिनमा राख्न नसकिएकाले समस्याले विकराल रूप लिइरहेको बताए । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस