विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय

सफल खबर संवाददाता

शुक्रबार, १६ जेठ २०७७, १८ : ४१
विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय

काठमाडौं । सरकारले तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । 

शुक्रबार बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो । मन्त्रिपिरिषद बैठकले यसअघिनै भारत लगायत तेस्रो मुलुकमा लकडाउनका कारण अलपत्र परेका नागरिक फिर्ता ल्याउने नीतिगत निर्णय गरिसकेको छ ।

सरकारी र निजी कम्पनीका सबै जहाज उडाउँदै भारतबाहेकका तेस्रो मुलुकबाट दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म नेपालीलाई स्वदेश ल्याउन सकिने समितिको हिसाब छ ।

समिति स्रोतका अनुसार आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजक्रिया गर्न आउनुपर्ने अवस्थामा रहेका व्यक्तिहरुलाई प्राथमिकतामा राखिने छ । 

यस्तै श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोना बाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई स्वदेश फर्काइने छ । यस्तै सरकारी सेवामा रहि तालिम वा अध्ययनका लागि विदेशमा रहेका नागरिकले सम्बन्धित देशको दूतावासमा आफ्नो विवरण टिपाउनुपर्ने छ । 

समितिले भारतमा रहेका नेपाली नागरिकहरुलाई ल्याउन देशका विभिन्न नाकाहरुलाई आधिकारिक रुपमा तोकेको छ । पशुपतिनगर, काँकडभित्ता, रानी, सुनौली, ठाडी, माडर, मलंगवा, गौर, वीरगञ्ज र महेशपुर नाका तोकेको छ । यसैगरी बेहलिया, तौलिहवा, कृष्णनगर, जमुनाह, गौरिफण्टा, गड्डाचौकी, झुलाघाँट र दार्चुलाका नाकाहरु तोेकेको छ ।