विश्लेषण

एक महिनामा बढे दसगुणा कोरोना संक्रमित, पछिल्लो एक सातामा तीन जनाको मृत्यु

सूर्यप्रकाश कँडेल

विहीबार, ०८ जेठ २०७७, १६ : ४९
एक महिनामा बढे दसगुणा कोरोना संक्रमित, पछिल्लो एक सातामा तीन जनाको मृत्यु

बिहीबार बिहानै थाहा पाएँ कोरोना संक्रमितको संख्या नेपालमा चार सय ४४ पुगेछ । तासको खेल म्यारिज खेल्नेहरु एउटै अंकका तीन तासलाई टनेला भन्छन् । म्यारिजमा टनेला पाँचको माल हुन्छ । टनेलाको अल्टर माल काटियो भने त्यो टनेला तीसको माल बन्छ । अहिले नेपालमा कोरोना भाइरसले संक्रमितको टनेला पारेको छ । सरकारले बुद्धि पु¥याउन सकेन भने यो टनेला तीसको माल बन्न कत्ति बेर लाग्दैन । अर्थात् कोरोना संक्रमण र त्यसबाट हुने मृत्युको तथ्यांक भयावह हुन सक्छ ।

बिहीबारको अर्को दुःखद खबर थियो, बुटवलस्थित एक अस्पतालमा उपचाररत कोरोना संक्रमित ४१ वर्षीय पुरुषको मृत्युको । गुल्मीका ती पुरुषमा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो मृत्युसँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । फुटबल खेलमा एउटै खेलाडीले गरेको तीन गोललाई ह्याट्रिक भनिन्छ । विश्वका अरु मुलुकमा मृत्युको वर्षा गराइरहेको कोरोना भाइरसले नेपालमा ह्याट्रिक गर्दै मृत्युको खेल अगाडि बढाइरहेको छ ।

कोरोनाले खेलिरहेको मृत्युको खेल बुझ्न नेपालमा यसको प्रवेशदेखि आजसम्मको अवस्थालाई सर्सर्ती खोतल्न मन लाग्यो । डायरी पल्टाएर टिपोट हेरेँ । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान शहरमा २०७६ साल पुसको मध्यतिर कोरोना कहर सुरु हुँदा नेपालमा एक जना पनि संक्रमित थिएनन् । २०७६ साल माघ ९ गते नेपालमा कोरोना भाइरसको संक्रमण एक जना विद्यार्थीमा पाइयो । ती विद्यार्थी चीनबाट आफ्नो देश नेपाल आएका थिए । उनलाई आइसोलेसनमा राखियो । सञ्चो भएर घर फर्किए उनी । थप दुई महिनासम्म नेपालमा संक्रमित नै देखिएनन् । तर भारतमा कोरोना संक्रमण देखिएसँगै त्यहाँ बन्दाबन्दी लागु गरिएपछि नेपालमा पनि चैत ११ गतेबाट बन्दाबन्दी सुरु भयो ।

चीनबाट इटाली, फ्रान्स, बेलायत र अमेरिकालाई कोरोनाले आच्छुआच्छु पार्न थालेपछि पाकिस्तान, भारत र नेपालमा सँगसँगैजस्तो बन्दाबन्दी (लकडाउन) लागु गरियो । नेपालमा चैत ११ गते बन्दाबन्दी घोषणा गरिँदा कोरोना संक्रमितको संख्या जम्मा तीन थियो । तीन जना संक्रमितमध्ये चीनबाट नेपाल आएका एक जना विद्यार्थी उपचारपछि निको भएर घर फर्किइसकेका थिए भने बाँकी दुई जनाको काठमाडौँस्थित टेकु अस्पतालमा उपचार भइरहेको थियो । चैत २० गतेसम्म कोरोना संक्रमण पुष्टि भएका सबै ६ जना विदेशबाट नेपाल आएकाहरु थिए । चैत २२ गते सातौं संक्रमितमा स्थानीयस्तरमा संक्रमण भएको पाइयो । यससँगै कोरोना नेपालमा दोस्रो चरणमा प्रवेश ग¥यो ।

कोरोनाको संक्रमण अहिले नेपालमा समुदायस्तरमै फैलिएर तेस्रो चरणमा पुगेको छ । यो अवस्थामा कन्ट्याक्ट ट्रेसिङ गर्दा पनि संक्रमितलाई कहाँबाट कोरोना भाइरस स¥यो भन्ने पत्तो पाउन सकिँदैन । सबै केसमा संक्रमणको स्रोत नखुलेको भने होइन, केही केसमा संक्रमण कहाँबाट भयो भन्ने पत्तो लगाएर सम्बन्धित क्षेत्र सिल गर्ने काम सरकारले गरेको छ । सरकारले पिसिआर परीक्षणको दायरा बढाउने काम भने गर्न नसकेकै हो । जसरी सरकारले भारतसँगको खुल्ला सिमानाबाट रातारात नेपाल प्रवेश गर्नेहरुलाई रोक्न सकेको थिएन । स्वदेश फर्कन चाहनेहरुलाई देशभित्र ल्याएर क्वारेन्टाइनमा प्रभावकारीरुपमा राख्नबाट पनि सरकार चुकेकै हो । त्यसैले त आज देशभित्र कोरोना संक्रमण भयावह बन्ने अमूर्त तस्बिर देखा परेको छ ।

नेपालमा कोरोना संक्रमणको बिस्तारलाई विश्लेषण गर्दा पछिल्ला तीस दिनको ग्राफ ह्वात्तै उकालो चढेको पाइन्छ । तीस दिनअघि वैशाख ९ गतेसम्म ४२ जनामा सिमित कोरोना संक्रमितको संख्या आज दसगुणाभन्दा अझ धेरै बढेको छ । त्यसअघि वैशाख ३ गतेसम्म १६ जना संक्रमित पाइएकोमा वैशाख ५ गतेसम्म संक्रमितको संख्या जम्मा ३० पुगेको थियो । बन्दाबन्दीको पहिलो महिना अर्थात् वैशाख ११ गतेसम्म नेपालभरि ४८ जना कोरोना संक्रमित थिए । बन्दाबन्दीको ५०औँ दिन वैशाख ३० गते कोरोना भाइरस (कोभिड १९) को संक्रमण एकैदिनमा ८३ जनामा देखा प¥यो । त्यस दिन थपिएका ८३ जनासहित कोरोना संक्रमितको कूल संख्या दुई सय १७ पुग्यो । 

वैशाख १४ गते ५२ र २१ गते ७५ जना रहेको कूल संक्रमित संख्या २३ गते ८२ र २५ गते एक सय एक पुग्यो । वैशाख २७ गतेसम्म एक सय नौ जना रहेको संक्रमित संख्या २९ गते एक सय ३४, ३० गते दुई सय १७ र ३१ गते दुई सय ४३ पुग्यो । जेठको पहिलो दिन दुई सय ४९ रहेको संक्रमित संख्या जेठ २ गते दुई सय ६७ पुग्दा समुदायस्तरमा फैलिइसकेको थियो । नेपालमा कोरोना संक्रमितको पहिलो मृत्यु जेठ ३ गते काभ्रेमा भयो । २९ वर्षीया सुत्केरीले कोरोना संक्रमणको कारण ज्यान गुमाउनु प¥यो । उनले जन्माएको बच्चा र परिवारका अन्य सदस्यमा भने कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

जेठ ४ गते संक्रमितको संख्या दुई सय ९५ पुगेसँगै मृतकको संख्या पनि बढ्यो । बाँकेको नरैनापुर क्वारेन्टाइनमा बसेका २४ वर्षीय संक्रमित पुरुष कोरोनाको उपचार नपाई मरे । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको आँकडा अनुसार कोरोना संक्रमितको संख्या जेठ ५ गते तीन सय ७५, ६ गते चार सय दुई र ७ गते चार सय २७ पुग्यो । यो आलेख तयार पार्दापार्दै बिहीबार नौ जना संक्रमित थपिएपछि अहिले नेपालमा कोरोना संक्रमितको कूल संख्या चार सय ५३ पुगेको छ । यीमध्ये ४९ जना निको भएर घर फर्किसकेका छन् ।