कोरोना भाइरस

बागमती प्रदेशमा दस जना संक्रमित उपचारमा

सूर्यप्रकाश कँडेल

सोमबार, ०५ जेठ २०७७, १५ : २२
बागमती प्रदेशमा दस जना संक्रमित उपचारमा

चितवन । बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएका १७ जनामध्ये दस जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने एक जना महिलाको मृत्यु भएको छ । 

सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले बागमती प्रदेशभित्र कोभिड १९ संक्रमित सबैभन्दा बढी काठमाडौंमा सात जना पुष्टि भएकोमा चार जना उपचाररत रहेको र तीन जना निको भई घर फर्केको जानकारी दिए ।

दोस्रो स्थानमा रहेको चितवनमा तीन जना संक्रमितमध्ये एक जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने एकै घरका दुई जना निको भएर घर फर्किसकेका छन् । धादिङका कूल दुई जना संक्रमितमध्ये एक जनाको उपचार भइरहेको र एक जना निको भएर घर फर्केको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोभिड १९ संक्रमितमध्ये भक्तपुरमा दुई, मकवानपुरमा एक र काभ्रेमा एक जनाको अस्पतालमा उपचार भइरहेको छ । बागमती प्रदेश अन्तर्गतको सिन्धुपाल्चोक जिल्लामा जेठ ३ गते कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । २९ वर्षीया ती महिलाको मृत्यु नेपालमा कोरोना संक्रमणबाट भएको पहिलो मृत्यु हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशमा चार हजार दुई सय ३१ पिसिआर परीक्षण भएकोमा १२ जनाको नतिजा पोजिटिभ देखिएको थियो । संक्रमितमध्ये अन्य पाँच जनाको बागमती प्रदेशबाहिर पिसिआर परीक्षण भई पोजिटिभ नतिजा प्राप्त भएको हो । बागमती प्रदेशभित्र भएको कूल ११ हजार नौ सय २३ आरडिटी परीक्षणको नतिजामा ६३ जनाको पोजिटिभ देखिएको थियो । 

यस्तो छ क्वारेन्टाइन र आइसोलेसनको अवस्था

बागमती प्रदेशभित्र दुई सय ६५ जना क्वारेन्टाइनमा र ४६ जना आइसोलेसनमा बसेका छन् । काठमाडौँ र भक्तपुरमा क्वारेन्टाइन र आइसोलेसनमा बस्नेको संख्या शुन्य छ । ललितपुरमा दुई जना क्वारेन्टाइनमा र तीन जना आइसोलेसनमा बसेका छन् । रसुवामा दुई जना र नुवाकोटमा दस जना क्वारेन्टाइनमा बसेका छन् ।

धादिङमा एक सय ४० जना क्वारेन्टाइनमा र दुई जना आइसोलेसनमा, चितवनमा १९ जना क्वारेन्टाइनमा र १२ जना आइसोलेसनमा बसेका छन् । सिन्धुलीमा ५४ जना क्वारेन्टाइन र दुई जना आइसोलेसनमा, मकवानपुरमा २७ जना आइसोलेसनमा बसेका छन् । रामेछापमा दस जना, काभ्रेमा सात जना र सिन्धुपाल्चोकमा २१ जना क्वारेन्टाइनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नेपालमा लकडाउनको ५६औं दिन सोमबार दिउँसोसम्म कोरोना संक्रमितको कूल संख्या तीन सय चार पुगेको छ । कूल संक्रमितमध्ये ३६ जना निको भएर घर फर्केका छन् भने दुई जनाको मृत्यु भएको छ । विश्वभरिमा कोरोना संक्रमितको संख्या ४८ लाख १८ हजार २५ पुगेको छ । कोरोनाबाट मर्नेको संख्या तीन लाख १६ हजार २५ पुगेको छ । विश्वभरिका कोरोना संक्रमितमध्ये १८ लाख ६३ हजार ८ सय ७० जना निको भइसकेका छन् ।