चितवन । लकडाउन जारी रहँदा बिरामी सहज आउन नसक्दा अस्पतालमा अन्य रोगका बिरामीको सङ्ख्या न्यून छन् । तर प्रसूतिका बिरामीको उपचार गराउने अग्रणी अस्पताल भरतपुर अस्पतालमा भने अन्य बेलामा भन्दा अहिले शल्यक्रिया गरेर बच्चा जन्माउनेको सङ्ख्या बढेको छ ।
सामान्य अवस्थाका गर्भवतीको शुक्रबार र आइतबारमात्र शल्यक्रिया मार्फत प्रसूती सेवा प्रदान गरिएकोमा अहिले सार्वजनिक बिदाबाहेक सबै दिन सेवा थालिएको छ । अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोख्रेलका अनुसार अघिल्लोपटक शल्यक्रिया गरेर नवजात शिशु झिकेका, नवजातशिशु उल्टो बसेका जस्ता गर्भवतीको हप्तामा दुई दिनमात्र शल्यक्रिया गर्ने गरेको भए पनि अहिले दैनिक सेवा सञ्चालन हुँदै आएको छ । आकस्मिक अवस्थाको भने जुनसुकै बेला शल्यक्रिया गरिँदै आएको छ ।
पालो मिलाएर नियमित शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार वैशाखमा मात्र ७५३ जनाले अस्पतालमा बच्चा जन्माएका छन् । ती मध्ये २७३ जनाको शल्यक्रिया गरिएको हो । गत वर्षको तुलनामा साधारण सुत्केरी सङ्ख्या घटे पनि शल्यक्रिया बढेको उहाँले जानकारी दिनुभयो । चिकित्सक पोख्रेलका अनुसार दैनिक ३० देखि ३५ जना सुत्केरी हुने गरेकामा यो सङ्ख्या २५ देखि ३० मा झरेको छ ।
मकवानपुर र गोरखामा प्रसूति सेवा शुरु गरिएको, स्वास्थ्य चौकीमा प्रसूति सेवा शुरु भएको, घरमै सुत्केरी गराउने काम शुरु भएको र कोरोनाको गलत प्रचारका कारण साधारण प्रसूति गराउने घटेको तर शल्यक्रिया गर्नुपर्ने जटिल बिरामी बढेको उहाँले बताउनुभयो ।
अन्य बेलामा भन्दा उच्च सावधानी अपनाइ सामाजिक दूरी कायम गरी प्रसूति विभागमा उपचार गरिएको छ । शङ्का लागेमा गर्भवतीको पिसिआर परीक्षण गराएरमात्र बच्चा झिक्ने गरिएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी सुत्केरी हुने ठाउँ भएकाले अस्पतालले अहिलेको परिस्थितिमा विशेष सावधानी अपनाएको बताउनुभयो । अलग्गै भवनमा स्त्री एवम् प्रसूति रोग विभाग छ । अस्पतालमा हाल कोरोनाका बिरामी छैनन् । यसअघि कोरोनाका बिरामी रहेको हुँदा अस्पतालले अपनाउन शुरु गरेको उच्च सावधानीका कारण सबै बिरामी सुरक्षित रहेको चिकित्सक तिवारीको दाबी छ ।
यस क्षेत्रमा नै उत्कृष्ट प्रसूति सेवा भरतपुर अस्पतालले दिने भन्दै उहाँले यस कठिन घडीमा पनि कुनै कमी नहोस् भनेर विशेष ध्यान पु¥याइएको बताउनुभयो । अस्पतालमा गत वर्ष १३ हजार ५४५ जनाले बच्चा जन्माएका थिए । प्रसूति विभागमा हाल १२ जना विशेषज्ञ र एमडी गर्दै गरेका पाँचजना चिकित्सक कार्यरत छन् । प्रसूति विभागअन्तर्गत ८० जना हाराहारी नर्सिङ स्टाफ छन् । कतिपय तीन दशकदेखिको अनुभवीसमेत रहेको अस्पतालले जनाएको छ ।
प्रसूति विभाग प्रमुख पोख्रेल भर्खर गर्भवती भएका महिलामा कुनै समस्या नदेखिएमा पहिलो महिनाको सट्टामा दोस्रो महिनामा आए पनि हुने बताउनुहुन्छ । सामान्यतया गर्भवती महिलालाई हरेक महिना परीक्षण गर्ने गरिन्छ । महिलाको पाठेघरबाट पानी बगेमा, व्यथा लागेमा, रगत बगेमा, बच्चा कम चलेमा, उच्च रक्तचाप भएमा भने तत्काल अस्पतालमा आउनुपर्ने उहाँको सुझाव छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०५ जेठ २०७७, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशमै प्रथम
बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी
भरतपुर अस्पतालले बिमाको रकम नपाउँदा उपचारमा समस्या
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित