नेपाल भारत सिमानामा विरोध प्रदर्शन

रासस

आइतबार, ०४ जेठ २०७७, २० : ३९
नेपाल भारत सिमानामा विरोध प्रदर्शन

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले नेपाल भारत सीमावर्ती सन्दकपुरमा भारतले नेपालको सिमाना मिचेको भन्दै विरोध गरेको छ । नेपाल विद्यार्थी सङ्घ इलाम र पाँचथर जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा भारतले अतिक्रमण गरेको नेपालको सीमा (इलाम सन्दकपुर गाउँपालिका र पाँचथरको फालेलुङ गाउँपालिकाको सिमाना) को भूमिमा विरोध प्रदर्शन गरेको हो । 

अतिक्रमित नेपाल–भारत सीमा सन्दकपुर नजीकै रहेको आहलटारमा सङ्घले विरोध ¥याली, प्रदर्शन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन, अतिक्रमित भूमिमा नेपालको राष्ट्रिय झण्डा गाड्ने जस्ता कार्यक्रम सम्पन्न गरिएको नेविसङ्घ इलामका उपाध्यक्ष प्रज्वल भट्टराईले जानकारी दिनुभयो । 

सङ्घका कार्यकताहरुले भारतीय विस्तारवाद मुर्दावाद भन्दै लम्पसारवादी भन्दै नेपाल सरकारको समेत विरोध गरेका थिए । भारतीय सुरक्षाकर्मीले विरोध गर्न खोज्दाका पनि विरोध गरिएको उपाध्यक्ष भट्टराईले जानकारी दिनुभयो । उनीहरुले सो विवादित क्षेत्रमा नेपालको झण्डासमेत गाडेका थिए । 

प्रदर्शनमा इलामबाट उपाध्यक्ष भट्टराईको नेतृत्वमा गएको टोलीमा इलाम तरुण दल क्षेत्र नंं ३ का सभापति मोहन गुरुङ, नेपाली काँग्रेस सन्दकपुर गाउँपालिका–४ का वडा सभापति दीपेश गुरुङ, नेविसङ्घ इलामका नेता ध्रुव राई, प्रकाश तामाङलगायतको टोली सो स्थानमा गएको थियो । 

त्यस्तै पाँचथरबाट नेपाल विद्यार्थी सङ्घ पाँचथरका अध्यक्ष तुलसी आचार्यको नेतृत्वमा नेवि सङ्घ पाँचथरका उपाध्यक्ष धनकुमार लावती, नेवि सङ्घ पाँचथरका सहसचिव मोतिहाङ केरुङलगायतको उपस्थिति थियो । उनीहरुले तत्काल सरकारले कूटनीतिक रुपमा पहल गरेर सधँैका लागि समस्याका समाधान गर्नसमेत नेपाल सरकारसमक्ष अनुरोध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस