भारतमा रेल चल्यो, नेपालमा त्रास

पत्रपत्रिकाबाट

बुधबार, ३१ बैशाख २०७७, ०६ : ५२
भारतमा रेल चल्यो, नेपालमा त्रास

फाईल फोटो

काठमाडौँ । भारतमा मंगलबारदेखि रेल सेवा सञ्चालनमा आएको छ। ‘रेड जोन’मा नपरेका क्षेत्रमा लकडाउन खुकुलो पारिएको छ। ‘ग्रिन जोन’ क्षेत्रमा त गाडी नै चलाउन थालिएको छ। यससँगै नेपालमा झनै कोरोना भाइरस फैलिने जोखिम देखिएको छ। झापाका सीमावर्ती पाँच स्थानीय तहका बासिन्दाले असुरक्षित महसुस गर्न थालेका छन्।

‘५५ वर्ष सीमामा बिते, कहिले पनि असुरक्षा महसुस भएन। दसगजामा भारतीयलाई नै दाजुभाइ बनाएर जीवन बितायौं। अहिले कोरोनाले गर्दा भारत नै सबैभन्दा ठूलो समस्या भएको छ’, गौरीगन्ज गाउँपालिका–४ का शमशेर गणेश भन्छन्, ‘अब त भारतबाट कोही आए भने कोरोना लिएर आउने हो कि भन्ने लाग्छ। बच्चादेखि बूढाबूढीसम्म त्रसित छौं।’

उनको जमिन भारतीय नागरिकले भाडामा लिएर खेती गरेका छन्। मकै बाली पाकेका कारण शमशेरले नै थन्क्याइदिने योजना बनाएका छन्। ‘जीवन ठूलो हो नि ! उनीहरू यता आउन सम्भव छैन। उनीहरूसँगै रोग पनि भित्रिने सम्भावना छ’, उनी भन्छन्, ‘त्यसैले मैले नै बाली सम्हाल्ने प्रयास गरिदिएको हुँ।’

गौरीगन्ज–४ का वडाध्यक्ष कुलप्रसाद गिरी सुरक्षा हिसाबले भारतबाट सहजै नेपाल प्रवेश गर्ने सम्भावना नरहेको बताउँछन्। ‘वडाबाट भारततिर आफन्तकहाँ गएर उतै रोकिएका दुई–चार जनाबाहेक अरू भारतमा अड्किएको अवस्था छैन’, उनी भन्छन्।

उता रेल सञ्चालनमा आएकाले उता गएका मजदुर नेपाल फर्किएपछि चुनौती बढ्ने सबैको बुझाइ छ। ‘एउटा स्थानीय तहले थेग्ने कुरा हैन’, कचनकवल–५ का वडाध्यक्ष महेशलाल गणेश भन्छन्, ‘भारतले लकडाउन कसिलो पार्दासम्म सीमा क्षेत्रमा त्यस्तो डर थिएन। भारतमा खुकुलो भएपछि नेपालमा डर भयो।’

नेपाल छिर्ने पहिलो नाका त सीमा क्षेत्र नै हो। सीमा हुँदै मात्र उनीहरू आफ्नो ठाउँमा जान्छन्। ‘भारतले लकडाउन खुकुलो पारेपछि नेपालले सीमामा जति नै कडाइ गरे पनि भारतबाट नेपाल छिर्नेको संख्या बढ्छ’, गणेश भन्छन्, ‘नेपालका सीमा क्षेत्रबाटै भारतमा मजदुरी गर्न गएका नेपाली यति धेरै छन्। तिनलाई भारतले सीमा क्षेत्रमा रोक्नै सक्दैन।’

जिल्लाको पूर्वी भाग मेचीनगर नगरपालिका–६ का वडाध्यक्ष ललित तामाङका अनुसार भारतको पानीट्यांकीमा ३ सय नेपाली रोकिएका छन्। ‘अब रेल खुलेसँगै नेपाल आउन चाहनेको संख्या ह्वात्तै बढ्छ’, उनी भन्छन्, ‘यसमा एउटा वडा र नगरको मात्र भूमिका हुँदैन, देशले ध्यान दिनुपर्छ।’

जिल्लामा भारतसँग सीमा जोडिएका मेचीनगर, भद्रपुर नगरपालिका र कचनकवल, झापा र गौरीगन्जमा गरी १६ वटा वडा छन्। जिल्ला समन्वय प्रमुख झापाका सोमनाथ पोर्तेल भन्छन्, ‘जिल्लाका ५ वटा स्थानीय तहसँगै देशमै अब चुनौती थपियो। भारतले रेल खोलिदिएपछि अब नेपाल आउन खोज्ने नेपालीको संख्या पक्कै पनि बढ्नेछ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।