विश्लेषण

कोरोना कहर : मंगलबारको अमंगल खबर

सूर्यप्रकाश कँडेल

मंगलबार, ३० बैशाख २०७७, १७ : ३४
कोरोना कहर : मंगलबारको अमंगल खबर

- सूर्यप्रकाश कँडेल

बन्दाबन्दीको अर्धशतक (५०औँ) दिन मंगलबार थियो । बार मंगल भएपनि मध्याह्नपछि अमंगल खबर सुन्नु प¥यो । विश्वलाई दुःख दिइरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा एकैदिनमा ५७ जनामा देखा प¥यो । दिउँसो सवा एक बजे सुनेको यही अमंगल खबरले दिनभर दिमाग रन्थनिइरह्यो । खबर सुनेर चुपचाप बस्न सकिन । फेसबुकमा जानकारीमूलक स्टाटस अपडेट गरेपछि दिनभर कोरोना कहरको नेपाल समीक्षामा लागेँ ।

मंगलबार थपिएका ५७ जनासहित नेपालमा कोरोना संक्रमितको कूल संख्या एक सय ९१ पुगेको छ । चैत ११ गतेदेखि देशभर लागु गरिएको बन्दाबन्दी वैशाख २६ गतेबाट खुकुलो पार्नु र नेपालमा कोरोना संक्रमितको संख्या बढ्नुले स्याल कराउनु बाख्रो हराउनु भनेजस्तै भएको छ । बन्दाबन्दी खुकुलो भएको पाँच दिनमै ९० जना कोरोना संक्रमित थपिएका छन् । बन्दाबन्दीको एक महिनासम्म नेपालभरि ४८ जना कोरोना संक्रमित थिए । आज एकैदिनमा ५७ जना थपिएका छन् ।

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान शहरमा गत वर्ष पुसतिर कोरोना कहर सुरु हुँदा नेपालमा एक जना पनि संक्रमित थिएनन् । चीनबाट इटाली, फ्रान्स, बेलायत र अमेरिकालाई कोरोनाले आच्छुआच्छु पार्न थालेपछि पाकिस्तान, भारत र नेपालमा सँगसँगैजस्तो बन्दाबन्दी (लकडाउन) लागु गरियो । नेपालमा चैत ११ गते बन्दाबन्दी घोषणा गरिँदा कोरोना संक्रमितको संख्या जम्मा तीन थियो । तीन जना संक्रमितमध्ये चीनबाट नेपाल आएका एक जना विद्यार्थी उपचारपछि निको भएर घर फर्किइसकेका थिए भने बाँकी दुई जनाको काठमाडौँस्थित टेकु अस्पतालमा उपचार भइरहेको थियो ।

कोरोनाको संक्रमण कुन गतिमा विश्वभर कुदिरहेको छ भन्ने बुझ्न एउटा तथ्यांकले सहयोग गर्छ । चैत ११ गते विश्वभरिका कोरोना संक्रमतिको संख्या तीन लाख हाराहारी थियो । डेढ महिनापछि आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ८७ हजार नाघेको छ । आज विश्वभर कोरोना संक्रमितको संख्या ४२ लाख ५६ हजारभन्दा धेरै छ । अबको डेढ, दुई महिनापछि अवस्था के होला ? कल्पना गर्दा पनि आङ सिरिङ्ग हुन्छ ।

लकडाउनका सुरुवाती दिनमा मानिसहरु अलिअलि डराए पनि । मास्क लगाए, साबुनले हात धोए, स्यानिटाइजर प्रयोग गरे । कतिपयले त मर्निङ वाक नै बन्द गरे । आज बन्दाबन्दीको दुई महिना नपुग्दै मानिसहरुको व्यवहार पुरानै अवस्थामा फर्कन थालेको छ । मर्निङ वाक चलेकै छ । मास्क लगाउनेहरु आधा घटेका छन् । बन्दाबन्दीलाई खुकुलो बनाएसँगै भिडभाड बढेको छ । अनि बढिरहेछ संक्रमितको संख्या पनि ।

वैशाख ३ गतेसम्म कूल १६ जना संक्रमित रहेकोमा वैशाख ५ गते नै यो संख्या ३० पुग्यो । थपिएका १४ जनामध्ये १२ जना उदयपुरका र २ जना चितवनका थिए । तीन साताअघि वैशाख ९ गतेसम्म ४२ जना रहेको संक्रमितको संख्या बन्दाबन्दीको एक महिना पुग्दा वैशाख ११ गते ४८ पुग्यो, जसमध्ये नौ जना निको भएर घर फर्किसकेका थिए । नौ दिनअघि वैशाख २१ गते ७५ जना रहेको कूल संक्रमित संख्या वैशाख २३ गते ८२ र २५ गते एक सय एक पुग्यो । वैशाख २७ गतेसम्म एक सय नौजना रहेको संक्रमित संख्या २९ गते एक सय ३४ पुग्यो । मंगलबारको अमंगल खबरसँगै अहिले नेपालमा कोरोना संक्रमितको कूल संख्या एक सय ९१ पुगेको छ । यीमध्ये ३३ जना निको भएर घर फर्किसकेका छन् ।

हुन सकेन पर्याप्त परीक्षण

कोरोना भाइरस (कोभिड–१९) बाट यतिबेला विश्व आक्रान्त छ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसविरुद्ध विश्वले युद्धस्तरमा रोकथाम र उपचारका प्रयास गरेको छ । नेपालमा भने शंकास्पद व्यक्तिहरुको पर्याप्त मात्रामा कोरोना परीक्षण नै हुन सकेको छैन । जति परीक्षणमा ढिलाई हुन्छ, त्यति नै संक्रमण बढ्ने खतरा रहन्छ । कोभिड–१९ विरुद्ध औषधि र खोपको आविष्कार नभइसकेको हुँदा यसको संक्रमण रोकथाम र संक्रमितको प्रभावकारी हेरचाह नै अहिलेको समस्याको विकल्प हुन् । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमितको थुकको छिटा (ड्रप्लेट्स) को माध्यमबाट सर्ने गरेको पाइएको छ । यो भाइरस हावामा धेरैबेर टिक्न नसक्ने भएकोले कुनै बस्तुमा टाँसिएर बस्ने र ती बस्तुमा छुँदा हाम्रो हातमा आई त्यो हात हामीले मुख, नाक वा अनुहारमा पु¥याउँदा शरीरभित्र पुग्छ ।

चिकित्सकहरुका अनुसार, शरीरभित्र प्रवेश गरेको कोरोना भाइरस फोक्सोमा पुगेर त्यहाँ आफ्नो संख्या वृद्धि गर्छ । यसले फोक्सोका कोषलाई नष्ट गरेर गम्भीर प्रकारको निमोनिया गराउँछ, जसको कारण संक्रमितको मृत्युसम्म हुन पुग्छ । डब्लुएचओको तथ्यांकलाई आधार मान्ने हो भने कोरोना भाइरसको कारण हुने औसत मृत्युदर चारदेखि पाँच प्रतिशतभित्र छ । यो त्यति डराइहाल्नु पर्ने मृत्युदर होइन ।

कसरी बच्ने संक्रमणबाट ?

कोरोना भाइरसबाट बच्ने एकमात्र उपाय भनेको यो भाइरसलाई आफ्नो शरीरभित्र प्रवेश गर्न नदिनु नै हो । यसका लागि हरेक व्यक्तिले आफूलाई भिडभाडबाट अलग राख्नु पर्छ । आफूलाई घरभित्रै सिमित गरेर सेल्फ आइसोलेसनमा बस्नु पर्छ । सरसफाईमा विशेष ध्यान दिनु पर्छ । त्यसका लागि कुनै वस्तु छोएपछि साबुन र पानीले हात धुने, स्यानीटाइजरले हातलाई किटाणुमुक्त गर्ने, अनुहारमा हात नपु¥याउने गर्नु पर्छ । भाइरसप्रतिरोधी (एन ९५) मास्क सहजै उपलब्ध नहुने भएकोले अनुहारमा हात पुग्न नपाओस् र रुघा वा खोकी लागेको बेला थुकका छिटा अरुको शरीरमा जान नपाओस् भनी सकेसम्म सर्जिकल मास्क नभएपनि साधारण कपडाको मास्क लगाउँदा कुनै हानि हुँदैन । मास्क नलगाएको अवस्थामा हाछ्युँ आएमा वा खोकी लागेमा कुहिनोलाई मुखमा जोडेर हाछ्युँ गर्नु पर्छ ।

बारम्बार हातलाई साबुन र पानीले धोएर वा स्यानीटाइजरको प्रयोग गरेर किटाणुरहित बनाउनु र त्यो हातलाई मुख, नाक वा अनुहारका अन्य भागमा नलैजानु नै कोरोना भाइरस संक्रमणबाट बच्ने प्रभावकारी उपाय हो । कोरोना भाइरसको संक्रमणबाट जोगिने प्रयत्न गर्दागर्दै पनि यसको चपेटामा परियो भने पनि आत्तिनु भने हुँदैन । कोरोना भाइरस सामान्य रुघाखोकी लगाउने भाइरसजस्तै हो । औषधि र खोपको अभावमा हामी यो भाइरसको संक्रमणसँग डराउनु परेको हो ।

बढाऔँ रोगप्रतिरोधी क्षमता

कोरोना भाइरसबाट संक्रमित हुँदा वा नहुँदा जुनसुकै अवस्थामा पनि शरीरको रोग प्रतिरोधी क्षमता बढाउने खालका खानेकुराको सेवनले कोरोनाविरुद्धको लडाइँमा साथ दिन सक्छ । विशेषगरी भिटामिन र प्रोटिन प्राप्त हुने खानेकुराले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउँछ । यसका लागि शाकाहार र मांसाहार दुबै उत्तम हुन्छ ।

मांसाहार गर्नेहरुलाई विज्ञानको भाषामा कार्निभोरस (CARNIVOROUS) भनिन्छ । यसलाई उल्टोपाल्टो गर्दा ति अक्षरबाटै कोरोना भाइरस (CORONA VIRUS) बन्दोरहेछ । यो एउटा संयोगमात्र हो । यसको अर्थ मांसाहारीलाईमात्रै कोरोना भाइरसको संक्रमण हुने र शाकाहारीलाई नहुने भन्ने होइन ।