काठमाडौं । पाकिस्तानले कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जारी देशव्यापी लकडाउनलाई भोलि शनिबारदेखि खुकुलो बनाउँदै लैजाने घोषणा गरेको छ । कोरोना संक्रमितको संख्या निरन्तर बढेपनि आमजनताको दैनिक जीवन थप कष्टप्रद हुँदै गएपछि सरकारले लकडाउनलाई खुकुलो बनाउन लागेको हो ।
प्रधानमन्त्री इमरान खानले बिहीबार लकडाउनलाई खुकुलो बनाउने तयारी गरिएको जानकारी दिँदै लकडाउनबाट आम मजदूर, साना व्यवसायी र सर्वसाधारण जनतालाई बढी नै समस्या परेको बताउनुभयो । पाकिस्तानमा कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ भने ५९४ जनाको ज्यान गइसकेको छ ।
प्रधानमन्त्री खानले भन्नुभयो, “हामी विकासशील मुलुक हौं, त्यसैले हामी देशलाई यस्तो लकडाउनमा धेरै दिन राख्न सक्दैनौं ।” उहाँले अगाडि भन्नुभयो, “हाम्रो निर्यात घटेको छ । हामीसँग सीमित स्रोत छ र हामीले त्यसलाई जनताको भलाईमा खर्च गरिसकेका छौं । लकडाउनबाट प्रभावित सबैलाई मद्दत गर्न सक्ने अवस्थामा हामी छैनौं ।”
पाकिस्तानमा कोरोनाभाइरसका बिरामी देखिएपछि गत मार्चदेखि लकडाउन जारी छ । बजार, व्यवसाय, सपिङ सेन्टर र कार्यालयहरु बन्द हुँदा मुलुकको अर्थतन्त्रमा नराम्रो असर परेको छ । प्रधानमन्त्री खानले भन्नुभयो, “हाम्रो राजश्वमा ३५ प्रतिशत गिरावट आएको छ भने निर्यातमा पनि ठूलो असर परेको छ ।”
पाकिस्तान सरकारले रमजानको यस महिनामा मस्जिदहरुमा सामूहिक प्रार्थनाका लागि अनुमति पनि दिएको छ । तर सरकारी अधिकारीहरुले आगामी जुलाई १५ सम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरिसकेका छन् । पाकिस्तानी शिक्षा मन्त्री शफकत महमूदले सबै बोर्ड परीक्षाहरु रद्द गरिएका र यसअघिको बोर्ड परीक्षामा विद्यार्थीले प्राप्त गरेको अंकलाई नै आधार मान्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २६ बैशाख २०७७, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप: भारत-पाकिस्तान महाभिडन्तमा वर्षा बाधक हुने, कोलम्बो पुग्यो भारतीय टोली
टी–२० विश्वकप : पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
भारत र पाकिस्तानबिचको खेलबारे अन्योल, अब निर्णय आईसीसीको हातमा !
टी-२० विश्वकप : पाकिस्तानले भारतसँगको खेल बहिष्कार गर्ने
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित