‘ब्याज मिनाहा गर्न असम्भव’ : गर्भनर अधिकारी

बुधबार, २४ बैशाख २०७७, ०७ : २५
‘ब्याज मिनाहा गर्न असम्भव’ : गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीले बैंकबाट लिएको ऋणको ब्याज मिनाहा गर्न नसकिने बताएका छन् । मंगलबार अर्थ समितिको बैठकमा आगामी मौद्रिक नीतिसम्बन्धी छलफलमा सहभागी उनले ब्याज मिनाहाको माग आए पनि कार्यान्वयन गर्न असम्भव भएको बताएका हुन् ।

कोभिड–१९ को प्रकोपका कारण समस्यामा परेका उद्यमी व्यवसायीले शृंखलाबद्ध रूपमा ब्याज मिनाहाको माग गरिरहेका बेला उनले ब्याज मिनाहा गर्न नसकिने बताएका हुन् । यद्यपि, उनले व्यवसायीले तिर्नुपर्ने ऋणको भाका भने सार्न भने सकिने बताए । उनले अर्थ समितिको बैठकमा भने, ‘ब्याज तिर्नुपर्ने तनावमा नपर्नुहोस् । भोलि त तिर्नु परिहाल्छ, अहिलेलाई समय सार्ने मात्रै हो ।’

बैठकमा सांसदले नेपालमा बैंक ब्याजदर बढी भएको बताएपछि गभर्नर अधिकारीले विकसित देशमा भन्दा अल्पविकसित देशमा ब्याजदर बढी नै हुने जिकिर गरे । यस्तै, वित्तीय क्षेत्रबाट धेरै ऋण लिनेमा ठूला व्यवसायी नै बढी रहेको उनले बताए । सांसदको प्रश्नमा गभर्नर अधिकारीले ५ करोडभन्दा बढी ऋण लिनेहरू ३६ प्रतिशत र ५० लाखभन्दा थोरै लिने ३४ प्रतिशत रहेको जानकारी दिए ।

अर्को वर्ष रेमिट्यान्स र राजस्वका स्रोत घट्दा अर्थतन्त्र अप्ठेरोमा पर्न सक्ने विषयलाई ख्याल गरी मौद्रिक नीति बनाउनुपर्नेमा उनले जोड दिए । बैठकमा सांसदले निर्वाहमुखी अर्थतन्त्रलाई आत्मनिर्भर र औद्योगिक अर्थतन्त्रमा रूपान्तरण गर्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस