लकडाउन खुकुलो पार्ने अवस्था छैन : सरकार

पत्रपत्रिकाबाट

बुधबार, २४ बैशाख २०७७, ०६ : ३९
लकडाउन खुकुलो पार्ने अवस्था छैन : सरकार

फाईल फोटो

काठमाडौँ । कोभिड–१९ को उच्च जोखिम नघटेपछि सरकारले यथास्थितिमै लकडाउन थप्ने भएको छ । लकडाउनको डेढ महिना अवधि बित्दा संक्रमितको संख्या झनै बढ्न थालेपछि लकडाउन खुकुलो बनाउन नहुने निष्कर्षमा सरकार पुगेको हो । चैत ११ मा लकडाउन सुरु हुँदा नेपालमा दुई जना मात्र संक्रमित रहेकामा अहिले ८२ जना पुगिसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित मंगलबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउन खुकुलो पार्दा झन् जोखिम हुन सक्ने निष्कर्ष निकाल्दै अहिलेकै मोडालिटीमा लकडाउन लम्ब्याउने निर्णय गरेको समिति सदस्य एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार संक्रमितको संख्या बढ्ने दर, परीक्षणको दायरा र सीमाका जिल्लाको जोखिमका कारण अहिले नै लकडाउन खुकुलो पार्न नहुने प्रतिवेदन ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ र स्वास्थ्य मन्त्रालयबाट पेस भएको छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस