लकडाउनले कैलालीको भन्सार नाकाहरुमा राजस्वमा भारी गिरावट

मंगलबार, २३ बैशाख २०७७, १९ : ०४
लकडाउनले कैलालीको भन्सार नाकाहरुमा राजस्वमा भारी गिरावट

धनगढी । लकडाउनका कारण कैलालीको भन्सार नाकाहरुमा राजस्व संकलनमा भारी गिरावट आएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी गरेपछि कैलालीको भन्सार नाकामा राजस्व संकलन पहिलेको तुलनामा आधा घटेको छ । 

उच्च सतर्कता अपनाएर आयातलाई निरन्तरता गरिएको छ, तथापि राजस्व संकलन अति न्यूनमात्रामा रहेको छ । कैलालीको त्रिनगर भन्सार नाकाले अघिपछिको तुलनामा भन्दा लकडाउनमा आधा मात्रामा सामाग्रीहरु आयात भइरहेको छ  । आयात घटेपछि भन्सार कार्यालयहरुले लक्ष्य भन्दा आधा पनि राजस्व संकलन गर्न सकेका छैनन् । 

लकडाउनमा धनगढीस्थित कैलाली जिल्ला भन्सार कार्यालयको तथ्यांक अनुसार चैतमा २५ करोड ५७ लाख ३२ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । भन्सार कार्यालयका लेखा फाँटमा रहेका भीम भट्टका अनुसार चैत महिनामा भन्सार विभागबाट ५० करोड ५९ लाख ६९ लाख रुपैयाँको राजस्व संकलन गर्ने लक्ष्य थियो, तर आधामात्र संकलन भयो । उनका अनुसार लकडाउनका कारण  ५० प्रतिशत राजस्व असुल भएको देखियो ।

उनका अनुसार वैशाख महिनाका लागि ५३ करोड ७५ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको छ । कैलाली भन्सार कार्यालयले लकडाउनका कारण राजस्व संकलनमा भारी गिरावट आइरहेको छ ।  लकडाउन अवधीमा चामल, गहुँ, मकै, सोयावीन, आलु, प्याज, कोइलालगायतका अत्यावश्यक वस्तुका मालबाहक सवारी साधन त्रिनगर नाकाबाट भित्रिरहेका छन् ।