वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी

बुधबार, ११ चैत्र २०८२, १३ : ०३
वार्ता संकेतबीच मिसाइल प्रहार

तेहरान । अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले बुधबार इजरायल तथा खाडी क्षेत्रका लक्ष्यहरूतर्फ नयाँ मिसाइल आक्रमण गरेको छ । यो आक्रमणले कूटनीतिक पहलसँगै सैन्य तनाव पनि समानान्तर रूपमा जारी रहेको स्पष्ट पारेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग संवाद अघि बढिरहेको संकेत दिएका छन्। उनले वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिका अहिले इरानसँग ‘वार्तामा रहेको’ उल्लेख गरे । यद्यपि इरानी पक्षले औपचारिक रूपमा त्यस्तो कुनै वार्ताको पुष्टि गरेको छैन । ट्रम्पले इरानले हालै चालेको कदमलाई सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै ‘उनीहरूले हामीलाई ठूलो मूल्यको उपहार दिएका छन्’ भने। उनले यसबारे थप खुलाएनन्, तर उक्त अभिव्यक्ति स्ट्रेट अफ होर्मुजसँग सम्बन्धित रहेको संकेत गरे । 

विश्वको झण्डै पाँचौँ भाग कच्चा तेल ओसारपसार हुने स्ट्रेट अफ होर्मुज हालै इरानले अमेरिका र इजरायलका आक्रमणको प्रतिक्रियास्वरूप अवरुद्ध गरेको थियो । तर अहिले तेहरानले अन्तर्राष्ट्रिय समुद्री संगठनमार्फत सन्देश जारी गर्दै ‘गैर–शत्रुतापूर्ण जहाजहरू’ लाई सुरक्षित मार्ग दिने जनाएको छ । यस कदमले विश्व बजारमा केही सहजता ल्याएको छ र कच्चा तेलको मूल्य छ प्रतिशतभन्दा बढीले घटेको देखिएको छ ।

अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सका अनुसार वासिङ्टनले पाकिस्तानमार्फत इरानलाई १५ बुँदे शान्ति योजना पठाएको छ । योजनामा युद्ध अन्त्य गर्ने प्रयासस्वरूप मध्यस्थताको प्रस्ताव समावेश गरिएको छ । तर यस योजनाबारे इजरायल अवगत थियो वा प्रत्यक्ष रूपमा संलग्न थियो भन्ने स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस