– सञ्चिता घिमिरे
काठमाडौँ । विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ का कारण कतिपय बालबालिकामा निद्रा नलाग्ने, झर्काे लाग्ने र एउटै कुरा मनमा खेलाउने जस्ता समस्या देखिन थालेको छ । कोभिड–१९ को रोकथामका लागि सरकारले जारी राखेको ‘लकडाउन’ का समयमा बालबालिकामा मनोत्रासको समस्या बढी मात्रामा देखिएको हो । अस्पतालले अहिले पनि बालबालिकामा आउनसक्ने मनोसामाजिक समस्याको उपचारका लागि सेवा सञ्चालन गरिरहेको छ ।
त्यस्तै, अस्पताल तत्काल आउन नसक्नेका लागि ९८०८५२२४१० नम्बरमा सम्पर्क गर्न भनिएको छ । टेलिफोनमा र अस्पतालमा आएका बालबालिकामा विभिन्न किसिमका समस्या देखिन थालेको मनोचिकित्सक डा आलोक झाले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय बालबालिकामा कुनै समस्या नभए पनि अभिभावक बढी चिन्तित भएको पनि पाइएको छ ।”
रोगबाट बच्नका लागि आवश्यक सावधानी अपनाउनुपर्ने भए पनि कतिपय अभिभावकले सन्तानलाई धेरै डर देखाउँदा समस्या आएको अस्पतालले जनाएको छ । रोगकै त्रासका कारण बालबालिकामा निद्रा नलाग्ने र अरु कुनै पनि कुरामा मन नलाग्ने समस्या पाइएको उहाँले बताउनुभयो । कतिपय बालबालिकामा शरीर झमझमाउनेलगायत शारीरिक समस्या भने पनि उपचारका क्रममा त्यो मानसिक समस्या भन्ने देखिएको छ । बालबालिकामा यो समयमा मुख्य गरी इञ्जाइटिक (मनोत्रास), कन्भर्जन डिस्अर्डर र एडजेस्टमेन्ट डिसअर्डरका समस्या पाइएको छ । उहाँले भन्नुभयो, “जसरी पहिले नसोचेको कुरा एकै पटक आउँदा बयस्कमा तनाब छ त्यो कुरा बालबालिकामा पनि हुन्छ ।”
अहिले देशभरमा सङ्क्रमित ८२ मध्ये कतिपय बालबालिका समेत छन् । ती बालबालिका निको भएर फर्केपछि पनि बारम्बार आफूलाई अझै सङ्क्रमण छ कि भन्ने सोच्ने समस्या आउन सक्ने मनोचिकित्सक डा झाले बताउनुभयो । समाजले अहिले पनि कोभिड–१९ को उपचारपछि घर फर्किएकालाई हेलाका दृष्टिले हेर्ने कुरा सञ्चारमाध्यममा आइरहेको छ । उहाँले भन्नुभयो, “त्यसले पनि बालबालिकामा तनाब गराउन सक्छ ।”
अस्पतालले फोनबाटै बिरामीको समस्या सुनेर आवश्यक सल्लाह दिने गरेको छ । लकडाउनको समयमा अस्पताल जान सहज नभएकाले ती अभिभावकसँग मेसेन्जर र भाइवरबाट पनि आवश्यक परामर्श दिइएको डा झाले बताउनुभयो । मनोसामाजिक शाखामा कार्यरत चिकित्सकले ती बालबालिकाको घर नजिकै हुँदा वा भेटेरै उपचार गर्नुपर्दा बोलाउने गरेका छन् । उहाँले भन्नुभयो, “तत्काल आउन नपर्ने र टाढा घर भएकालाई भने फोनबाटै आवश्यक सुझाव दिइन्छ ।”
कतिपय अभिभावक साना बालबालिकालाई समेत कोभिड–१९ का बारेमा बुझाउन चाहेको पाइएको डा झाले बताउनुभयो । रोगका बारेमा बुझ्ने उमेर नभएका बालबालिकालाई त्यसका बारेमा बुझाउन आवश्यक नभएको उहाँको भनाइ छ । ती बालबालिकालाई सफाइमा ध्यान दिने, घर बाहिर खेल्न नजाने र भीडभाडमा जान हुँदैन भन्ने कुरा अरु तरिकाले पनि बुझाउन सकिन्छ । खासगरी ६ वर्ष नाघेका बालबालिकाले रोगका विषयमा बुुझ्ने हुँदा उनीहरुलाई आवश्यक कुरा मात्रै बुझाउनुपर्ने उहाँले बताउनुभयो । यो समयमा अभिभावकले सन्तानलाई समय तालिकामा नै सबै क्रियाकलाप गराउँदा उपयुक्त हुन्छ । अभिभावकसँग पनि समय भएकाले बिहान उठेदेखि राति सुत्दासम्म के के गर्ने भनी तालिका बनाएर गर्नुपर्ने उहाँको सुझाव छ ।
“बालबालिकालाई मोबाइल वा टिभीमै बढी समय बिताउन दिनुहुँदैन”, उहाँले भन्नुभयो, “चित्र बनाउने, कथा भन्न, पढाउन लगाउने र अरु सिर्जनात्मक काममा लगाउन सकिन्छ ।” अस्पतालको कल सेन्टरमा अहिलेसम्म ६८ जनाले टेलिफोन गरेर परामर्श लिइसकेका छन् । तीमध्ये कतिपय भने अस्पताल पनि आइरहेका छन् । अस्पतालमै मानसिक समस्याको उपचारका लागि आउने बालबालिकाको सङ्ख्या झण्डै ८० को हाराहारीमा छ ।
कोभिड–१९ को स्याटलाइट अस्पतालका रुपमा कान्ति बाल अस्पताल रहेको छ । अस्पतालले खोप कार्यक्रम, बहिरङ्ग विभागलगायत अत्यावश्यक सेवालाई लकडाउनको समयमा पनि निरन्तरता दिएको छ । अस्पतालले कोभिड–१९ रोकथामका लागि कर्मचारीको हाजिर थम्ब नगरेर अनुहार पढ्ने (फेस रिड) शुरु गरिएको अस्पताल निर्देशक कृष्ण पौडेलले बताउनुभयो । छिट्टै इटिकेटिङ शुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
मानसिक समस्याबाहेकका अरु शारीरिक रोगको अहिले तत्काल उपचार नगरी नहुने वा ठूलो समस्या आउँदाबाहेक ‘फलो अप’ का लागि अहिले अस्पताल नआउन बिरामी बालबालिकाको अभिभावकलाई आग्रह गरेको छ । लकडाउनमा जिल्ला जिल्लाबाट वा काठमाडौँमा पनि आउन सहज नभएकाले अत्यावश्यकबाहेक अस्पताल नआउन भनिएको हो । जुनसुकै बालबालिकामा स्वास्थ्य समस्या देखिँदा ड्युटीमा रहेका चिकित्सकलाई सोध्न सकिने गरी नम्बर तय भएका छन् । यो समयमा बालबालिकामा कुनै पनि समस्या देखिएकामा ०१४४२७४४९ वा ९८४७३८६२०५ मा फोन गरेर मेडिकल डाक्टरसँग बुझ्न सकिनेछन् । त्यस्तै, शल्यक्रियासम्बन्धी समस्याका बारेमा अस्पतालमा ०१४४४३१३१ वा ९८४७३८६१५० नम्बरमा फोन गरेर बुुझ्न सकिनेछ । अस्पतालले कोभिड–१९ को शङ्का लागेका बिरामीलाई ‘आइसोलेसन’ श्ययामा राखेर ¥यापिड टेष्ट गर्ने र पिसिआर परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला पठाउने गरेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट कोरोना खोप अभियान सुरु गरिने
कोरोना भाइरसका कारण बेलायतमा मृत्यु हुनेको संख्या ९७ हजार भन्दाबढी
जाडो याममा के के रोगले सताउछ,जानी राखौ सताउने रोगहरु
गण्डकी प्रदेशमा पुग्यो कोभिसिल्ड खोप
कोरोना देखिएपछि सल्यानका तीन विद्यालय बन्द
एमबीबीएसको शुल्क वृद्धि अस्वीकार्य छ : डा .केसी