सीमा नाकामा कडाई गर्न गृहमन्त्री थापालाई प्रधानमन्त्री ओलीको निर्देशन

सोमबार, २२ बैशाख २०७७, १० : ०७
सीमा नाकामा कडाई गर्न गृहमन्त्री थापालाई प्रधानमन्त्री  ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम र नियन्त्रणका लागि अन्तराष्ट्रिय सीमा अझै खुकुलो देखिएको भन्दै कडाई गर्न गृहमन्त्री रामबहादुर थापालाई निर्देशन दिएका छन् । बन्दाबन्दी (लकडाउन) ले नै नेपालमा कोरोना रोकथाम र नियन्त्रण गर्न सफल हुने र यो लचिलो हुने बित्तिकै महामारीको रुप लिन सक्ने भन्दै लकडाउन अझै कडा गर्न र सीमा नाकामा थप कडाई गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीले निर्देशन गरेका हुन् ।

नेपालगन्जमा एकै दिन १६ जना भन्दा बढी मा कोरोना भाइरस संक्रमण देखिनुपूर्व आइतबार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकमा ओलीले गृहमन्त्रीलाई त्यस्तो निर्देशन दिएको एक मन्त्रीले बताए । ‘मुख्य कुरा सीमा नाका नै हो, त्यहा जति टाइट गर्न सकिन्छ, हामीले कोरोना नियन्त्रण गर्ने सक्ने अवस्था रहन्छ, गरेनौं जोखिम देखिन सक्छ, त्यसका लागि सीमा क्षेत्र अझै टाइट गर्नुपर्ने देखिएको छ ।

बरु भारत तिरका पनि सीमा सुरक्षा बलसँग समन्वय गर्ने ब्यवस्था मिलाउनुहोस्, दुवै तिरका अधिकारी सम्मिलित कार्यदल पनि आवश्यक परे बनाउने काम गर्नुहोस, तर सीमा नाकामा आवातजावत टोटल्ली बन्द गर्नुहोस्,’ प्रधानमन्त्रीले गृहमन्त्रीलाई दिएको निर्देशन उद्धृत गर्दै ति मन्त्रीले सफलखवरलाई बताए । मन्त्रिपरिषद् बैठकमा सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई नेपाल ल्याउने पो होकी भन्ने एक मन्त्रीले प्रश्न उठाएपछि प्रधानमन्त्रीले अहिले भावनामा बगेर नहुने भन्दै भारतमा रहेका नेपालीलाई अहिले दुख झेलेरै भएपनि उतै बस्न आग्रह गरेका हुन् ।

‘उता (भारत) रहेकालाई बरु दुतावासमार्फत उतै बन्दाबस्तीको ब्यवस्था मिलाउनु पर्छ, यता अहिले ल्याउने कुरै हुदैन, कोही पनि भावनामा बगेर बहकिनु हुदैन, यता ल्याउदा यता भयावह अवस्था नआउला भन्न सकिन्न । यस्तो अहिले सोच्नु ठीक हुदैन,’ बैठकमा प्रधानमन्त्रीको भनाई थियो ।

ओलीले लकडाउनको स्वरुप फेर्ने विषयमा पनि गम्भिर भएर गृहकार्यको प्रस्ताव गर्न आग्रह गरेका छन् । उनले काठमाडौंभित्र पनि आउने जाने काममा टाइट गर्नुपर्ने बताएका छन् । पछिल्ला दिनमा सर्वसाधारणले लकडाउन प्रति हेलचेक्रयाईको प्रवृति बढेको भन्दै सर्वसाधारणलाई गम्भिरयता बुभ्mन आग्रह गर्नुपर्ने पनि प्रधानमन्त्रीको भनाई थियो । उनले लकडाउनको विकल्प नभएको, बोर्डर टाइट गर्नुपर्ने धारणा बैठकमा राखेका थिए ।
 
पार्टीमा अभूतपूर्व एकता
ओलीले मन्त्रिपरिषद् बैठकमा पार्टीमा अभूतपूर्व एकता कायम भएको पनि बताएका थिए  । ‘पार्टीभित्र विवाद बढेको थियो, पार्टी नै के होला होला भन्ने अवस्था पनि आएको थियो । अब, त्यस्तो केही छैन । पार्टी विवाद मिलेको छ । म सहित सबै नेताहरुले आ–आफना कमजोरी स्वीकार गरेका छौं ।

आत्मआलोचना गरेका छौं । अब पार्टी एक ढिक्का भएको छ । तनाव नलिनुहोस्, पार्टी के होला भनेर । ढुक्क हुनुहोस अब उत्साहका साथ काममा लाग्नुहोस्,’ प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई भनेका थिए ।
 

प्रतिक्रिया दिनुहोस