बेवारिसे बम विस्फोटले गैरीगाउँ शोकमा

पत्रपत्रिकाबाट

शनिबार, २० बैशाख २०७७, ०६ : ५४
बेवारिसे बम विस्फोटले गैरीगाउँ शोकमा

काठमाडौं । बेवारिसे बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएपछि त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित मैतीगातिना गाउँ शोकमग्न बनेको छ । एकाघरका दुई दिदीभाइसँगै चारजनाको मृत्यु भएपछि सिंगो गाउँ शोकमग्न भएको स्थानीय मानसिंह डाँगीले बताए । 

‘बम विस्फोट भएलगत्तै म त्यहाँ पुगेको थिएँ, निकै दर्दनाक अवस्था थियो,’ डाँगीले भने, ‘नाबालक बालबालिकाको अकालमा मृत्यु भएपछि गाउँ नै शोकमग्न भएको छ ।’ विस्फोटमा दिदीभाइ ११ वर्षीया विमला खत्री र ५ वर्षीय विजय खत्रीका साथै ओजबहादुर डाँगीका छोरा १४ वर्षीय नोखिराम डाँगी र त्रिवेणी गाउँपालिका ४ छेप घर भई मावल गएका लक्ष्मण नेपालीका छोरा १३ वर्षीय गौरव नेपालीको मृत्यु भएको थियो ।

लालबहादुरले छोराछोरीको मुखै हेर्न पाएनन्
एकाघरका दिदीभाइ विमला र विजयका बुबा हुन् लालबहादुर खत्री । केही दिनअघि मात्र काठमाडौंबाट गाउँ फर्किएका लालबहादुर त्रिवेणी गाउँपालिकाकै झम्लुङ विद्यालयको क्वारेन्टाइनमा बसिरहेका थिए । कोरोना भाइरसको त्रासकैबीच आफ्नै परिवारमा यस्तो बज्रपात आयो जुन लालबहादुरको कल्पनाभन्दा बाहिरको थियो । बिहीबार क्वारेन्टाइन छाड्ने समय भएकै वेला घरमा बज्रपात भएको खबर सुनाउनु पर्दा आफूहरूलाई पनि निकै पीडा महसुस भएको त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताए । आजको नयाँ पत्रीकामा खबर छ । 

प्रतिक्रिया दिनुहोस