विचार

सक्कली सक्कलीतिर, नक्कली नक्कलीतिर

वीरेन्द्रमणि पौडेल

बुधबार, १७ बैशाख २०७७, १७ : २५
सक्कली सक्कलीतिर, नक्कली नक्कलीतिर

साङ्केतिक फोटो

– वीरेन्द्रमणि पौडेल

दुनियाँमा सक्कली चिज छ, नक्कली पनि छ । सक्कली चिज भरपर्दो र टिकाउ हुन्छ, नक्कली चिज टिकाउ हुँदैन । मान्छेको हकमा पनि यो सक्कली र नक्कली दुबैखाले अर्थ दिने खालका मान्छेहरुको उपस्थिति छ । सक्कली मान्छे भनेको सके अरुलाई मद्दत गर्ने नसके हानी नोक्सानी नपु¥याउने, सम्बन्धित देशको प्रचलित कानुन मान्ने, समाजको रीतिथितिलाई सम्मान गर्ने, बीचमा बसेर चुक्ली नलगाउने, कमजोरलाई नहेप्ने, बलिया र शक्तिशालीको स्वार्थपूर्तिका लागि चाकडी नगर्ने, प्राणी जातिको अस्तित्व रक्षाका लागि आफ्नो सुखसुविधा त्याग्न सक्ने मान्छे हो । 

अब यो युगलाई कलियुग भनिएकैले होला यतिबेला सक्कली मान्छेको संख्या विश्वमा कम हुँदै गएको छ । नेपालको हकमा त सक्कली मान्छे भेटिन एक ढंगले मुश्किलमुश्किल हुन आँटिसकेको छ । नक्कली मान्छेहरु अरुको निन्दा गर्छन् त्यो पनि फोकटमा । कसैले हानी नोक्सानी पु¥याओस् वा नपु¥याओस्, निन्दा गर्ने बानीद्वारा विवश उनीहरु सधैंभरि अरुको निन्दा गरेर जीवनका महत्वपूर्ण समय खेर फाल्छन् । देशको कानुन लत्याउँछन् । सानालाई हेप्छन्, ठूला र शक्तिशालीहरुको अल्पकालीन र सानो स्वार्थको लागि चाकडी गर्छन् । समाजलाई धमिलो बनाउने काममा लाग्नेहरुतर्फै कोल्टिन्छन् । नक्कली मान्छेहरु सोझा निमुखाहरुबीच चुक्ली लाउने र जुधाउने काममा खप्पीस हुन्छन् । कुल मिलाएर नकारात्मक सोच, चिन्तन भएका नक्कली मान्छेहरुको उपस्थिति यो देशमा बाक्लै छ, जसले मुलुकलाई हरेक कोणबाट अफ्ठ्यारोमा पार्ने काम मात्रै गरिरहेका छन् । नक्कली मान्छेका नक्कली काम र परिणामबारे चर्चा गर्नुअघि निकै पुरानो एक कथा प्रस्तुत गर्नु सान्दर्भिक देखिएको छ । 

राजा मान्ने चलन कायम रहेकै बखत राजाको छोरा राजकुमारको बिहे भोज आयोजना गरिएको थियो । भोजमा ठालु र धनीहरुका लागि छुट्टै स्थान र पकवान बन्दोबस्त गरिएको थियो । माग्ने, गरीब र कहिलेकाहीँ मात्रै मीठो खान पाउने अवस्थाकाहरुलाई अलग्गै स्थान र कमसल खालको खाद्यान्नको बन्दोबस्त गरिएको थियो । राजखलक र धनीहरुका लागि कमसल ठानिएको र मानिएको तर सुकुम्बासीहरुका लागि महत्व राख्ने मासु र चिउरा त्यो भोजमा खुवाउने तर्खर गरिएको थियो । सबै गरीबहरु मासुचिउरा खानका लागि लाइनमा मुख मिठ्याएर उभिएका थिए । राजदरबारमा आयोजित भोजमा टपरी समेतको बन्दोबस्त गरिएको थिएन ।

मासु चिउरावाला भोज खान उभिएको कमजोर आर्थिक अवस्थाका मान्छेको लाइनमा निकै हल्लाखल्ला थियो । हल्ला हुनुको कारण अरु थिएन  थियो त केवल धेरै लामो समयपछि मासुु खान पाउने विषयमा थरीथरीका कुराहरु थिए । कसैले दुई बर्ष भएको थियो मासु खान नपाएको भन्दै थियो भने कसैले अघिल्लो बर्ष खाएको भन्दै थियो । कसैले यसो बाटो छेउ पकाएको मासुको बासना मात्रै सुँघेको कुरा गथ्र्यो । सबैले यस्तै कुरा गर्दाको हल्लाखल्ला थियो त्यो । हल्लाखल्लाकै बीच मासु र चिउरा बाँड्न थालियो । मासुचिउरा थाप्नेहरु हर्षित थिए । यही क्रममा एकजना युवाले दरबारको पिल्लरलाई माझमा पारेर मासु चिउरा थाप्न पुग्यो । दिनेले दियो । तर तुरुन्तै युवा आत्तियो । मासु चिउरा थापिएको एकजोर हात अघि लाँदा पनि अड्कियो पछि सार्दा पनि अड्कियो । सबैजना युवाको नजिक गए । धेरै उपाय लगाए तर हात छुटाउन सकेनन् । मासु चिउरा खान बसेकाहरु मध्ये कसैले दरबारको पिल्लर ढाल्नु पर्ने बताए भने कसैले युवाको हातै काट्नु पर्ने सल्लाह दिए । फेरि कसैले राजाको पिल्लर ढाल्दा ठूलै नोक्सानी हुने तर्क अघि सार्दै बरु युवाको हातै छिनाल्न ठीक हुने बताए । त्यो तर्क सुन्नेबित्तिकै हो हो एकबारको जुनीका मासुचिउरा खान दिने राजाको दरबारको पिल्लर ढाल्न हुन्न भन्दै सबै जनाले सहमति जनाए । युवाका बाआमाभने रुनकराउन थाले । कृपया मेरो छोराको हात नकाट भन्दै बिलौना गर्न लागे तर त्यो रुवाइको अर्थ कसैले बुझ्न चाहेनन् र खुर्पा उद्याउन तर्फ लागे । 

त्यही बखत एक जना साधु त्यही दरबारको छेउबाट कतै जाँदै थिए । रोएको आवाज सुनेपछि मान्छेको भिडभित्र उनी छिरे । समस्या बुझेपछि तिनी मुस्कुराएर भने “तपाईहरु चिन्ता नमान्नुस्, म यो समस्या समाधान गरिदिन्छु ।” कमजोर बुद्धिका कारण गरीब भएकाहरु खुशी भए, चाँडो समस्या समाधान गर्न अनुरोध गरे । साधुले एउटा टपरी मागे, युवालाई मासुचिउरा टपरीमा खन्याउन भने । युवाले त्यसै गरे । यसरी युवाको हात छुट्यो । यो दृष्य देखेका मान्छेहरु यस्तो बुद्धिमान मान्छेको मासु खान पाए आफूहरु पनि विद्वान हुने निष्कर्षमा पुगे । कोही गिदी खाने कोही मुटु खाने त कोही कलेजो खाने विषयमा झगडा गर्न लागे । साधुले कुरा बुझे, झगडा गरिरहेकाहरुको आँखा छलेर ज्यान जोगाएर भागे । निकै पर पुगेर फर्केर हेरे । लामो सास फेरेर तिनले मसिनो स्वरमा भने, “भगवानले मन पराएर जन्माएकाहरुबाट आज झण्डै मेरो मृत्यु भएन ।”

हो, आज निश्चित रुपमा पवित्र मनसायले जसले मद्दत गर्छ उसलाई त्यही साधुको अवस्थामा पु¥याउने प्रयत्न गरिन्छ । अब चर्चाको थालनी गरौं त्यस्तै नक्कली भन्न लायक मान्छेहरु जसले सिंगो समाजलाई अफ्ठ्यारोमा पारिरहेका छन् । अहिले नोबेल कोरोना भाइरसका कारण संसारका सबै देश र ती देशका मान्छेहरु ज्यान जोगाउने धुनमा अत्तालिएका छन् । आज कोरोना भाइरसका अगाडि बम, बारुद, मिसाइल, सुनचाँदी, हिरामोती, अत्याधुनिक आणविक अस्त्र, धनदौलत बेकामका सावित भएका छन् । संसारका मान्छेहरुले जे अवस्थाको सामना गरिरहेका छन्, नेपाली जनताले पनि त्यही अवस्थाको सामना गर्नु परिरहेको तीतो यथार्थ हामी सबैको सामु छँदै छ । संसारका अपवादलाई छाडेर कुनै पनि सरकारले जस पाउँदैन । सधैंभरि अपजसमात्रै पाउँछ । तैपनि सरकारले जस पाउने प्रयास भने गरिनै रहन्छ । केपी ओली नेतृत्वको सरकारले नेपाली जनताले चाहे र सोचे बमोजिमको काम गर्न सके सकेन । त्यसको हिसाबकिताब उनको कार्यकाल सकिएपछि गर्न मिल्छ तर उनको सरकारले जनतालाई जोगाउन देशमा लकडाउन ठीक समयमा लगाएर नेपाली जनतालाई बचाउने भरमग्दुर प्रयास गरेको छ । यो सरकारको यो कदमलाई खुला दिलले समर्थन गर्नु आमनेपाली जनताको कर्तब्य हुन आउँछ । 

बहुसंख्यक नेपाली जनताले हजारौं कष्ट सहेर लकडाउनलाई पालना पनि गरिरहेका छन् तर देखिएरै केही नक्कली मान्छेहरुले लकडाउनको उल्लंघन गरिरहेका छन् । स्थानीय प्रशासनले विनम्रताका साथ अनावश्यक काममा बाहिर ननिस्किन अनुरोध गरेकै छ । सत्य लेख्नै पर्छ, आफूलाई सक्कली मान्छे दाबी गर्नेले भन्नै पर्छ नेपालको इतिहासमा शायद पहिलोपटक चितवनका यतिबेलाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लावासीलाई हातै जोडेर सञ्चारमाध्यममार्फत अनावश्यक काममा बाहिर ननिस्किन अनुरोध गरे । प्रशासकले जनतालाई हात जोडेर निवेदन गर्नु कम्तीमा नेपालको हकमा अनौठो त हो नै, विश्वास मान्न पनि कठिन विषय हो । यसोचाहीँ किन हो भने इतिहासदेखि आजसम्म प्रशासकहरुले दम्भ नै प्रदर्शन गरेका हुन्, यति नरमपन देखिएको कहिल्यै होइन । तर पनि लाजै पचाएर आफूलाई सक्कली दाबी गर्ने नक्कली मान्छेहरुले लकडाउनलाई हाकाहाकी चुनौती दिएर बिनाकाम सवारीसाधनसहित सहरबजार डुले । 

केही जिम्मेवार पक्षको बुझाइमा कहाँनेर कमजोरी देखियो भने यतिबेलाको अवस्था विश्वयुद्ध होइन तर विश्वयुद्धभन्दा कम खतरनाक अवस्थाचाहीँ होइन । यस्तो डरलाग्दो अवस्थामा देश र जनताको रक्षाको लागि सिर्फ सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीले मात्रै काम गर्छन् । सरकार चनाखो भएर निर्देशन दिने र आवश्यक निर्णय गर्ने काम गर्छ तर जनताको माझमा खट्ने कामचाहीँ यिनै तीन प्रकारका सेवकहरुले गर्छन् । बिरामीलाई उपचारमार्फत् बचाउने प्रयास स्वास्थ्यकर्मीहरुले गर्छन् । शान्तिसुरक्षा र कानुनको पालना गर्ने गराउने काम सुरक्षाकर्मीले गर्छन् र जनतालाई खबर दिने काम चाहीँ सञ्चारकर्मीले गर्छन् । यी तीनमध्ये कुनै एक पक्षको भूमिका कमजोर हुँदा जनताले पाउनुसम्मको दुःख पाउँछन् । तर यही समयमा कसैलाई लाग्यो सञ्चारकर्मीको यतिबेला काम छैन, घरै बसे हुन्छ । सञ्चारमाध्यम बन्द गरे हुन्छ । तर यो सत्यलाई ठाडै छोप्ने प्रयास कहाँनेर भयो भने कहाँ के भएको छ जान्ने उत्सुकता सबै जनतालाई हुन्छ । एक मिनेटमात्रै सञ्चारमाध्यमको अनुपस्थितिको कल्पना गरौं त के हुन्छ ? बाँच्ने मान्छेको संख्यामा मानसिक रोगीहरुको संख्या ह्वात्तै बढ्छ । मान्छे अन्नपानी नखाई हप्ता दिन बस्न सक्ला तर २४ घण्टा देशभरिका सञ्चारमाध्यम बन्द हुँदा धेरै मान्छेको त होसै गुम हुन्छ । नपत्याए एकपटक प्रयोग नै गरेर हेरौं । 

यही देशका सञ्चारमाध्यमहरुले आफैं घोषणा गरेर पत्रपत्रिका बन्द गरेको पनि देखियो । यो पनि निकम्मापनको उच्चतम् नमूना हो । नसकिए प्रकाशन नगर्ने हो तर बन्द गरियो भन्ने सूचना दिन कुनै पनि हालतमा मिल्दैन । यसो गर्दा जनतामा निराशा छाउँछ । सरकारले पत्रकारहरुलाई संवेदनशील अवस्थाको मूल्यांकन गरेर समाचार प्रकाशन प्रशारण गर्न अनुरोध गर्ने काम बेग्लै हो तर न त सञ्चारमाध्यम बन्द गर्न हुन्छ न सञ्चारकर्मीबिना काम बस्न हुन्छ । हामी नेपाली यो मामलामा पनि चुकेकै हौं । आज देशभरिका सुरक्षाकर्मीहरु जनताको सेवामा खटिएका छन् । यिनको यो मेहनतबारे जनतालाई जानकारी दिने काम कसले गरेको छ ? निश्चितरुपमा सञ्चारकर्मीले नै दिएका छन् । स्वास्थ्य उपचारको अवस्था कस्तो छ जानकारी दिने काम पनि सञ्चारमाध्यमले नै गरिरहेका छन् । अब यो अवस्था प्रष्ट हुँदाहुँदै सुरक्षाकर्मी र सञ्चारकर्मी वा स्वास्थ्यकर्मी र पत्रकारहरुबीच द्वन्द्व निम्त्याउनु पर्ने कारण कहाँनेर छ ? तीनपक्षको संयुक्त प्रयासबाट राष्ट्रसेवा भइरहेको अवस्थालाई अझै कसिलो सम्बन्ध बिस्तार गर्नेतर्फ जाने वातावरण सिर्जना गर्नुपर्छ । तीनै पक्षको उद्देश्य र साझा लक्ष्य जनताको सेवा र सुरक्षा हो भन्ने प्रष्ट भएपछि एकले अर्कालाई मद्दत गर्ने हो होच्याउने र असहयोग गर्नै हुन्न । बरु नक्कली पत्रकार हो वा सक्कली हो, त्यो थाहा पाउन कुनै सजिलो सूत्र लागु गर्नु उपयुक्त हुन्छ । 

अहिले प्रष्ट देखिएको छ नक्कली मान्छेहरु नक्कलीतिर ढल्किएका छन्, सक्कली मान्छेहरु सक्कली मान्छेतिरै ढल्किएका छन् । नक्कली मान्छेहरु जनता घरमा थन्किएको मौका छोपेर जंगली जनावर शिकार गर्न लागेका छन् । अत्यावश्यक सामग्रीहरुको मूल्य ह्वात्तै बढाएर जनताको ढाड सेक्ने काम गरेका छन् । यही बेला नक्कली मान्छेहरु मानवताविरोधी काम गर्न अग्रसर भएका छन् । सानो संख्यामा रहेका सक्कली देशभक्तहरु नक्कली मानवबाट सावधानी अपनाउने तर्खरमा छन्, र पनि यतिबेला नक्कली मान्छेहरुकै आवाज चर्को सुनिएको छ । नक्कली मान्छेहरु स्वभावैले नक्कलीहरुको भिडमा पुग्छन् तर सक्कलीहरु पनि यतिबेला सक्कली मान्छेतर्फ कोल्टिएको जुन अवस्था हो, योचाहीँ देशहितमा हुने पक्का छ । नक्कली मान्छेहरुले एकैछिन् वा केही क्षण जित्छन् तर अन्तत्वोगत्वा सक्कली मान्छेहरुकै जीत हुन्छ र त्यो जीत सिंगो नेपालीको जीत हुनेछ ।

प्रतिक्रिया दिनुहोस