काठमाडौ । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतमा विचाराधीन रहेको राजदूत फिर्ता प्रकरणमा सरकारले गरिरहेको कामकारबाहीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अदालतमा मुद्दा चलिरहेको र अन्तरिम आदेशसमेत जारी भइसकेको अवस्थामा राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा फिर्ता बोलाएर काममा लगाउने सरकारी निर्णय अदालतको अवहेलना भएको बारको ठहर छ। बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बारले सरकारको यो कदमले स्वतन्त्र न्यायपालिकाको अवधारणा र विधिको शासनलाई कमजोर बनाउने चेतावनी दिएको छ।
महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'संवैधानिक प्रावधान, संविधानवाद र स्वतन्त्र न्यायपालिका सम्बन्धी अवधारणा एवम् संविधानको धारा १२८ (४) बमोजिम अदालतको आदेशभन्दा फरक परिणाम निकाल्ने गरी गरिने कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष कार्य अदालतको अवहेलना हो।'
बारले अदालतको आदेश वा फैसलाको पालना गर्नु सबैको कर्तव्य भएको स्मरण गराउँदै यसको उल्लंघनले स्वेच्छाचारितालाई बढावा दिने बताएको छ। विज्ञप्तिमा भनिएको छ, 'अदालतको फैसला वा आदेशमाथि स्वस्थ, प्राज्ञिक छलफल गर्न सकिए पनि त्यसको प्रत्यक्ष वा परोक्ष रूपमा पालना नगर्नुले विधिको शासनलाई कमजोर पार्दछ।'
नेपाल बारले अदालतप्रतिको आस्थामा आँच आउने कुनै पनि कार्य नगर्न र अदालतका आदेशहरूको अक्षरशः पालना गर्न सम्बन्धित सबै पक्षलाई हार्दिक अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद विघटन असंवैधानिक : नेपाल बार
काठमाडौँ जिल्ला अदालत बारको अध्यक्षमा चिलुवाल
नेपाल बारमा आज निर्वाचन, अध्यक्षमा मिश्र र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा