काठमाडौं । प्रधानमन्त्री केपी ओली पार्टी निर्णय र निर्देशनमा नचल्दा पार्टी र सरकारमा गम्भीर संकट आएको भन्दै नेताहरुले ओलीलाई गलाउने तयारी गरेका छन् । पार्टी र सरकारमा ओलीले निकास दिनुपर्ने निस्कर्षका साथ बहुमत नेताहरु गम्भीर छलफलमा रहेका बेला ओलीको अनिच्छाका बीचमा आज नेकपा सचिवालयको बैठक बस्दैछ । यो सचिवालय बैठकलाई गम्भीर चासोका साथ हेरिएको छ ।
प्रधानमन्त्री ओलीका विपक्षमा बलियो मत बन्ने सम्भावना आजको सचिवालयमा चित्र देखिने सम्भावना बढेर गएको छ । सचिवालयको बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठकमा अध्यादेश प्रकरण र त्यससँगै जोडिएको अन्य पार्टी विभाजनमा प्रधानमन्त्रीको कुर्सीमा बसेर गरेको तयारी, सांसद नै अपहरण जस्ता घटनाले नेकपा र नेकपाको सरकारलाई नै बदनाम बनाएको भन्दै प्रधानमन्त्रीको चर्काे आलोचना हुने देखिदैछ ।
ओली पक्षले अध्यादेश नै फिर्ता लिईसकेपछि यसलाई सामान्यीकरण गर्न खोजेपनि यसले पार्टी र नेकपा नेतृत्वको सरकारलाई पारेको प्रभावका विषयमा केन्द्रीत रहेर नेताहरुले ओलीले चित्तबुभ्mदो जवाफ र उचित निकास दिनुपर्ने आवाज उठाउने सम्भावना बढेर गएको छ । यस विषयमा थप निर्णय लिनका लागि बहुमत नेताहरुले स्थायी समिति बैठक तत्काल माग गर्ने तयारी छ ।
तर, ओली सचिवालयमै यो विषयलाई थामथुम पार्ने र तत्कालका लागि आफुले कुनै त्याग नगर्ने अडानमा देखिएका छन् । पार्टी भित्रका विपक्षी नेताहरुले उठाउने स्थायी समितिको बैठक उनले सचिवालयमै सिमित गराएर टार्ने पक्षमा लागेका छन् । यही विवादका बीच नेकपा सचिवालयमा आज रस्साकस्सी चल्ने सम्भावना बढेर गएको छ । सचिवालयले स्थायी समिति बैठक बोलाउन सक्छ या सक्दैन ? अहिले नेकपाको राजनीतिलाई नियालिरहेकाहरुले बताउन थालेका छन् । वैशाख ८ यता नेकपाको पार्टी बैठक बस्न सकेको थिएन ।
२० जना स्थायी समिति सदस्यले १० वैशाखमै अध्यादेश प्रकरण छलफलका लागि स्थायी समिति र आवश्यक परे केन्द्रीय समिति बैठक समेत बोलाउन माग गरेको सन्र्दभमा यो सचिवालय बैठक बस्न लागेको हो । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुले ओलीले सामान्य आत्म आलोचना गरेर मात्र नपुग्ने त्यसका लागि उनले पार्टी र सरकारबाटै विकल्प दिने गरी त्याग गरेर आउनु पर्ने धारणा राखिरहेका छन् । तर ओली यति बदनाम हुदाँ सम्म पनि आप्mनो अडानबाट टसमस हुने अवस्थामा देखिदैनन् ।
उनी सरकार र पार्टी दुवैमा विकल्प दिने अवस्थामा देखिएका छैनन् । उनले संसदमा आफ्नै पार्टीका सांसदलाई अहिले विभिन्न प्रलोभन देखाएर दलभित्र बहुमत जुटाउने र प्रचण्ड माधव नेपालले खोज्ने विकल्पको सामना गरेर जाने गरी तयारी थालेका छन् । सोमबार र मंगलबार उनले पार्टीका आफु निकट सांसदहरुलाई बालुवाटारमा बोलाएर जनुकुनै अवस्थाको पनि सामना गरेर जानुपर्ने अवस्था आएको भन्दै सांसदहरुको अंक गणितको चलखेलमा लागेका छन् । तर उनले जतिसुकै गरेपनि उनको संसदीय दलमा समेत बहुमत नपुग्ने र पुगिहाले पनि पार्टी निर्णयका अगाडी उनको केही नलाग्ने नेताहरुको भनाई छ ।
‘यो को कता ? कसको कति भन्ने कुरा होइन, विधि पद्धती र संस्थागत पार्टी निर्णयका कुरा हो, यसमा प्रधानमन्त्री ओलीले पार्टी बैठक बोलाउने, त्यहाँ हुने छलफललाई सहज स्वीकार गर्ने र निर्णयलाई मानेर जाने कुरा गर्नुपर्छ अन्यथा त्यो ओलीकै लागि दुर्भाग्य हुन सक्छ,’ नेकपाका एक स्थायी समिति सदस्यले सफलखबरसग भने ।
सचिवालय बैठकमा स्थायी समितिको बैठक बोलाउन केन्द्रीत हुने भएपछि बैठक बोलाउने या अहिले नबोलाउने भन्नेमा नेताहरुका बीच सचिवालयमा चर्काचर्की पर्ने सम्भावना बढेर गएको छ । प्रधानमन्त्री ओली अहिले सचिवालय सम्म बस्ने तर स्थायी समिति बैठक नबोलाउने पक्षमा अहिले पनि उत्तिकै अडानमा छन् । तर, प्रचण्ड र नेपालपक्ष स्थायी समिति बैठक नबोलाई नछोडने पक्षमा अहिले छन् ।
प्रतिक्रिया दिनुहोस