काठमाडौँ । जारी लकडाउनका कारण थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूतिगृह) मा प्रसूति सेवा लिनेको सङ्ख्या केही कम भएको छ । अस्पतालसम्म आउन यातायातका साधन सहज नभएकाले यहाँ टाढाबाट बिरामी आउन नसकेको हुनसक्ने अस्पतालले जनाएको छ ।
अस्पतालमा १ सय भन्दा बढी महिलाले दैनिक सन्तानलाई जन्म दिने गरेका छन् । काठमाडौँ र उपत्यका बाहिरबाट समेत सिफारिस भएर आउने गरेका थिए । लकडाउनयता दैनिक आठ÷दश जना कम भएको अस्पतालका निर्देशक डा जागेश्वर गौतमले बताउनुभयो । ती महिला अस्पतालसम्म पहुँच नभएकाले घरमै सन्तानलाई जन्म दिएको हुनसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “उनीहरु अरु स्वास्थ्य संस्था गए वा घरमै सन्तान जन्माए भन्ने बुझ्नुपर्छ ।”
अस्पतालमा अहिले नियमित जाँचका लागि दैनिक १ सय ५० देखि २ सय सम्म आउने गरेका छन् । सामान्य अवस्थामा ७ सय देखि ८ सय सम्म आए पनि अहिले लकडाउनकै कारण यो सङ्ख्या कम भएको हो । अस्पतालले पनि आकस्मिक सेवाका लागि बाहेक सामान्य अवस्थामा खाइरहेकै औषधि नियमित गर्न भनिरहेको छ । नेपाल सरकारको मापदण्डानुसार नै चार पटकभन्दा कम सेवा लिए मात्रै सेवा नपुगेको मान्न सकिने उहाँले बताउनुभयो । सरकारले गर्भवती महिलाले कम्तीमा चार पटकसम्म जाँच गराउनुपर्ने मापदण्ड छ । उहाँले भन्नुभयो, “त्योभन्दा कम हुँदा मात्रै सेवा पुगेन भन्ने हो, अहिले त्यो अवस्था छैन ।”
अस्पतालमा आकस्मिक जाँच गर्न एम्बुलेन्स, ट्याक्सी र निजी गाडीबाट अस्पताल आइरहेका छन् । अस्पतालले बहिरङ्ग सेवा बन्द गरिए पनि आकस्मिक सेवा र भर्ना हुने बिरामीलाई सेवा दिइरहेको अस्पताल निर्देशक डा गौतमले बताउनुभयो । अस्पतालले कार्यरत कर्मचारीलाई मास्क, स्यानिटाइजरलगायत आवश्यक सामग्री उपलब्ध गराएर नियमित काममा लगाएको छ । अस्पतालमा स्वास्थ्यकर्मीका लागि आवश्यक कुराको अभाव नभएको उहाँले बताउनुभयो । यहाँ आउने कुरुवा र बिरामीका लागि पनि अस्पताल हाताभित्र छिर्दा र कुनै वस्तु छोएपछि साबुनपानीले हात धुने व्यवस्था मिलाएको छ ।
कुरुवालाई अस्पतालमा भीड नगर्न भनिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सकेसम्म एक जना बिरामीका लागि एक जना मात्रै कुरुवा बस्नुुपर्ने बताएका छौँ ।” अस्पतालले सङ्क्रमित महिलालाई प्रसूति सेवा पनि दिने उद्देश्यले पाँच श्ययाको आइसोलेसन कक्ष व्यवस्था गरेको छ । कोभिड–१९ सङ्क्रमित महिला आउँदा पनि उनीबाट अरुमा सर्न नपाओस् भनी छुट्टै श्ययाको व्यवस्था गरिएको हो ।
जुनसुकै गर्भवती महिलामा सङ्क्रमित पाइएमा पहिले टेकु नै पठाइने निर्देशक डा गौतमले बताउनुभयो । नौ महिनाको र सुत्केरी हुने अवस्थामा पुगेका महिलालाई भने यहीँ छुट्टै श्ययामा राखेर प्रसूति सेवा दिइनेछ । उहाँले भन्नुभयो, “आठ महिनासम्मका महिलामा सङ्क्रमण देखिएमा समस्या गर्भभन्दा पनि रोग भएकाले त्यसको पहिले उपचारका लागि पठाइनेछ ।”
अस्पतालमा कुनै पनि समयमा कोभिड–१९ सङ्क्रमित आउन सक्ने भएकाले आवश्यक तयारी गरिएको अस्पतालका निर्देशक गौतमले बताउनुभयो । हालसम्म भयावह अवस्था नभएकाले व्यवस्था गरिएको आइसोलेसन कक्ष नै पर्याप्त छ । आगामी दिनमा आवश्यक पर्दा कुपण्डोलस्थित नयाँ भवनमा व्यवस्था मिलाइने उहाँले बताउनुभयो । त्यसका लागि आवश्यक स्थानसँगै जनशक्ति र स्रोत व्यवस्थापनको समेत तयारी भइरहेको छ । उहाँले भन्नुभयो, “आवश्यक भएमा नयाँ भवनमा १ सय ५० जनासम्म व्यवस्थापन गर्न सकिनेछ ।”
उहाँका अनुसार अहिलेसम्म नदेखिए पनि सङ्क्रमण नियन्त्रण गर्न नसकिँदा भविष्यमा गर्भवती महिलालाई समेत देखिन सक्ने भन्दै आवश्यक तयारी गरिएको हो । यो रोग विश्वमा नै नयाँ भएकाले गर्भवती महिलामा कतिको चाँडो असर गर्छ भनी अहिलेसम अध्ययन भइसकेको छैन । तैपनि ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई जस्तै गर्भवतीमा पनि असर गर्ने सम्भावना रहेको बताइएको छ । उहाँले भन्नुभयो, “नयाँ रोग भएकाले बच्चा र आमामा पार्ने रोगको विस्तृत अध्ययन भने हुनसकेको छैन ।”
लकडाउन शुरु भएको दिनदेखि नै नियमित जाँच रोकेर अरु सेवा दिइएको अस्पताल प्रशासनले जनाएको छ । नियमित जाँचका लागि आउने गर्भवती महिलालाई पहिले खाँदै आएको औषधि नियमित खाएर अप्ठ्यारो पर्दा मात्रै आउन भनिएको अस्पतालका प्रशासन प्रमुख रानु थापाले बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस