चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना

मंगलबार, १६ बैशाख २०७७, ०७ : ४५
चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौँ । आज मंगलबार देशभरको मौसम सामान्यतया बदली हुने र केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुका कारण मौसम बदली भएको हो । यस्तै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको मौसमविदले बताएका छन् ।

अहिले पश्चिम तथा पूर्वका क्षेत्र र मध्य पहाडी भू–भागमा सामान्य बदली भई एक–दुई स्थानमा वर्षा भइरहेको छ । मंगलबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैगरी राति पनि देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थान तथा पश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।