प्रशासनको आकस्मिक अनुगमन, नारायणगढका व्यवसायीहरु सटर बन्द गरेर भागे

प्रकाश सिग्देल

आइतबार, १४ बैशाख २०७७, १७ : ५०
प्रशासनको आकस्मिक अनुगमन, नारायणगढका व्यवसायीहरु सटर बन्द गरेर भागे

– प्रकाश सिग्देल
चितवन । नारायणगढ बजारका खाद्य पसल तथा फलफुल पसलको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयको टोली सडकमा निस्किएपछि पुतली बजारका व्यवसायीहरु सटर बन्द गरेर भागेका छन् । 

दैनिक खाद्य वस्तु बिक्री गर्ने त्यहा रहेका भारतीय र तराई मुलका व्यवसायीले सञ्चालन गरेका २ दर्जनभन्दा बढी पसलहरु सबै बन्द गरेर व्यवसायीहरु भागेको स्थानीयहरुले बताए । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलको नेतृत्वमा घरेलु तथा साना उद्योग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय र पत्रकार सहितको संयुत्त अनुगमन टोली बजार अनुगमनमा निस्किएको थियो ।

अनुगमन टालीले अनुगमन गरिरहेको छ भन्ने थाहा पाएपछि पुतली बजारका व्यवसायीहरुले हतार हतार सटर तानेर ताला लगाएर हिँडेको भन्दै स्थानीयहरुले अनुगमन टोलीलाई  अनुगमनको सुचना चुहावट भएको भन्दै छापामार सैलीमा अनुगमन गर्न सुझाव दिएका थिए । 

अनुगमन टोलीले बालकुमारी चोक आसपासका केही फलफुल र खाद्य पसलमा अनुगमन गर्न थालेपनि स्थानीय बासिन्दाहरु जम्मा भएर दाल तथा चामलको मूल्य दिन प्रतिदिन बढेको र अहिले खाद्यान्न किन्नै नसकिने अवस्था भएको भन्दै पुतली बजारका व्यवसायीहरुलाई विशेष निरानी गर्न आग्रह गरे ।

खुद्रा खाद्य सामाग्री बिक्री गर्ने सबैभन्दा ठुलो मानिएको पुतली बजारमा स्वस्तिक उपभोक्ता भण्डारमात्रै खल्ला रहेको थियो । टोलीले सो पसलको पनि अनुगमन गरेको थियो । सो क्रममा पसलका सन्चालकले अनुगमन टाली आएको थाहा पाएर सबै व्यवसायीहरु पसल बन्द गरी हिँडेको तर आफूले डराएर भाग्नु पर्ने गरी व्यवसाय नगरेकाले पसल खल्लानै राखेको प्रतिक्रिया दिएका थिए । स्वस्तिक उपभोक्ता भण्डारले सामान खरिद र बिक्री बिल भने देखाउन सकेन । पसलले खरिद र बिक्री बिल देखाउन नसकेपनि पसलमा टास भएको मूल्य सुचि अनुसारनै व्यापार गरेको पाईएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत खेमराज पौडेलले बताउनु भयो । सोमबारको अनुगमनमा आफूहरुले खाद्यभन्दा पनि फलफुलमा ध्यान दिएको र अब आगामी दिनमा उपभोत्ताको गुनासो सम्बोधन गर्नेगरी खाद्यान्न बिक्री गर्ने पसलमा आकस्मिक अनुगमन गरी कालोबजारी गरेको भेटिएमा कडा कारबाही गर्ने प्रशासकीय अधिकृत पौडेलले चेतावनी दिनु भयो । उपभोत्ता स्वास्थ्यमा खेलवाड गर्ने र कालोबजारी गरेको पाईएमा जो भएपनि पक्राउ गरी कालोबजारी अन्र्तगत मुद्धा चलाउने चेतावनी पौडेलको छ । सोमबार (आज) लिलाचोकमा रहेको सित भण्डारको समेत निरीक्षण गरिएको थियो । बजारका व्यवसायीले त्यहाँ कति फलफुल गोदाम गरेर राखेका छन् । त्यसको पनि निरीक्षण गरिएको पौडेलले बताउनु भयो । 

आफूहरुले जय संकर आलु स्टोर्स, ज्य मातेश्वरी खाद्य भण्डार, पुजा ट्रेड्र्स, हिमाली फुड एण्ड जुस सेन्टर, हेल्दी फुड एण्ड जुस र्कनर, र स्वस्तिक उपभोक्ता भण्डारको अनुगमन गरिएको पौडेल बताउनु हुन्छ । सो क्रममा जय संकर आलु स्टोर्सको दर्ता कागज फेला नपरेकोले त्यसलाई प्रशासनमा हाजिर हुन निर्देशन गरेको उहाँ बताउनु हुन्छ । फलफुल पसलको अनुगमनका क्रममा होलसेल बिक्रेताले नै फलफुलको मूल्य महंग्याएको थाहा हुन आएको र क्षेत्रपुरको तरकारी तथा फलफुल बजारका केही व्यवसायीहरुको विषयमा आफू कहाँ सुचना आएकाले उनिहरुलाई कार्यालयमा बोलाएर थप अनुसन्धान गर्ने पौडेलको भनाई छ । 

बजारमा खाद्य वस्तुको मूल्य बढेको उपभोक्ताबाट गुनासाहरु बढ्न थालेकाले अब नियमित अनुगमन गर्नुपर्ने अवस्था देखिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरीक्षक प्रदिप काफ्लेले बताउनु भयो । अहिले यो संकटको घडीमा व्यवसायीले आफूखुसी गर्न थालेकाले सबै नियामक निकायहरुले प्रभावकारी रुपमा आफ्नो काम कारवाहीलाई अगाडि बढाउने घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुगमन अधिकारी नारायण दत्त त्रिपाठीले बताउनु भयो ।