कीर्तिपूरमा कुटिए राहत माग्ने विद्यार्थी

शनिबार, १३ बैशाख २०७७, १६ : ४३
कीर्तिपूरमा कुटिए राहत माग्ने विद्यार्थी

काठमाडौं । काठमाडौंको कीर्तिपूरमा राहत माग्दै नाराबाजी गर्ने विद्यार्थीमाथि अपरिचित व्यक्तिहरुले कुटपीटि गरेका छन् । निर्घात कुटाइ खाने विद्यार्थी ललितजंग रावत रहेको र उनी त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अध्ययनरत रहेको बुझिएको छ ।

शनिवार विद्यार्थीको सुरक्षा र राहत माग्दै सडकमा निस्किएका विद्यार्थीमाथि आक्रमण भएको हो । विद्यार्थीलाई सडकमा लडाएर टाउको लात्ती प्रहार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनलाई अहिले स्काउटले उद्धार गरेर अस्पताल पठाएको छ ।

राहत वितरणको विषयमा केही दिनअघि भएको विवादपछि आफ्ना सहकर्मीको सुरक्षा माग गर्दै विद्यार्थीहरु महानगरीय प्रहरी कीर्तिपुर पुगेका थिए । प्रहरी परिसरबाट फर्कनै लाग्दा उनीहरुमाथि शनिबार बिहान ९ बजे कुटपिट भएको हो ।

काठमाडौं प्रहरी परिसर कीर्तिपुर वृत्तका डीएसपी छेदिलाल कामदीले लकडाउन उल्लंघन गर्दै केही युवाहरु सडकमा निस्किएको र आपसमा भिडेको बताए । उनले भने, ‘स्थानीयवासीले झगडा भएको खबर गर्नासाथ हामी त्यहाँ पुगेका थियौं तर हामी जाँदा त्यहाा कोही थिएनन् ।’

स्थानीय विद्यार्थीहरुले भने राहत माग्नेहरुलाई उच्छृङ्खल युवाको समूहले कुटपिट गरेको बताएका छन् ।

जारी लकडाउनका बेला कीर्तिपूरमा विद्यार्थीहरुले राहत नपाएको विषयबाट विवाद सुरु भएको हो ।