सांसद ‘अपहरण’ : के कारबाही होला ?

पत्रपत्रिकाबाट

शनिबार, १३ बैशाख २०७७, ०७ : ५५
सांसद ‘अपहरण’ : के कारबाही होला ?

काठमाडौँ । समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई बुधबार राति महोत्तरीबाट उठाएर ल्याएको घटना मन्त्रिपरिषद्ले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि सेलाउनेजस्तो देखिएको छ । नेपालको संसदीय इतिहासमा सांसद खरिदबिक्रीको अर्को उदाहरणका रूपमा स्थापित भइसकेको यो घटनाको उपचार के हो भन्नेमा सत्तारूढ र विपक्षी दलहरूको फरक धारणा आइरहेका छन् ।

समाजवादीलगायत विपक्षी दलका नेताहरूले यो घटनालाई अपहरण भनी दाबी गरिरहेका छन्। घटनामा संलग्नहरूले भने सांसद यादव स्वेच्छाले काठमाडौं आएकाले आफूहरूमाथि झूटो आरोप लगाउन नहुने भन्दै प्रतिवाद गरेका छन्।

राज्यशक्ति दुरुपयोग
सांसद यादवलाई लिन काठमाडौंबाट नेकपाका भक्तपुरका सांसद महेश बस्नेत, तनहुँका सांसद किसान श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनाल घरमै पुगेका थिए। सार्वजनिक भएको विवरणअनुसार पूर्वप्रहरी प्रमुख खनालले काठमाडौंबाटै स्थानीय प्रहरी प्रयोग गरेर सांसदका अंगरक्षकमार्फत सांसद यादव बसेको ठाउँ पत्ता लगाएर उनीहरू पुगेका थिए।

राज्यका निकायले अनुसन्धानका क्रममा बाहेक कुनै पनि नागरिक नियन्त्रण गर्नु गोपनीयताको हक हनन हो। भर्खरै सेवा निवृत्त भएका पूर्वआईजीपी खनालले सुरक्षाकर्मी दुरुपयोग गरी गोपनीयताको हक अतिक्रमण गरेका छन्। ‘राज्यको स्रोतसाधन दुरुपयोग गरी गोपनीयताको हक अतिक्रमण गर्नु गलत हो। यो संवैधानिक हकमाथि अतिक्रमण हो,’ वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले भने, ‘जोसुकै नागरिकको गोपनीयतामाथि प्रहार हुनु गलत हो। मुलुकका सांसदजस्तो व्यक्तिको त यो हालत छ भने झन् सर्वसाधारणको हाल के होला?’

लकडाउनका बेला जरुरी कामबाहेक सर्वसाधारणलाई घरबाट निस्कन बन्देज लगाइएको छ। औषधि किनेर फर्केकाले बाटोमा प्रहरीको लाठी खाएका छन्। पूर्वआईजीपी खनाल पूर्वमन्त्री बस्नेत र सांसद श्रेष्ठका साथमा महोत्तरी पुगेका थिए। त्यहाँ पुग्दासमेत स्थानीय प्रहरीको सहयोग लिएका उनीहरूले फर्किने क्रममा प्रधानमन्त्रीसँग सांसद यादवलाई कुरा गराएको विवरण सार्वजनिक भएको छ। उनीहरूले कुराकानीमै पूर्वमन्त्री बस्नेतले सांसद कल्लुदेवी विश्वकर्मा पनि पकडमा आएको भनेर बताएका थिए। कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत लैजानु अपहरण हो। आजको कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस