लकडाउन लम्बिएसँगै काठमाडौंमा बिहान १० बजेसम्म दैनिक उपभोग्यका पसल खोल्न दिन आग्रह

विहीबार, ११ बैशाख २०७७, २३ : ३५
लकडाउन लम्बिएसँगै काठमाडौंमा बिहान १० बजेसम्म दैनिक उपभोग्यका पसल खोल्न दिन आग्रह

file photo

काठमाडौँ । महानगर क्षेत्रभित्र खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउन बजारलाई सहज र चलायमान बनाउन लकडाउन अवधिभरि बिहान १० बजेसम्म पसल खोल्ने वातावरण बनाउन सरोकारवालाले आग्रह गरेका छन् । काठमाडौं महानगरमा अहिले बिहान ९ बजे सम्म मात्र बजार तथा पसलहरु खुल्दै आएका छन् ।

काठमाडौँ महानगरपालिकाले बिहिबार गरेको छलफलमा सरोकारवालो सो आग्रह गरेका हुन् । उनीहरुले दैनिक उपभोग्य बस्तु भण्डारमा सञ्चय भएपनि खुद्रा बिक्री गर्ने व्यापारीकोमा पु¥याउन नसक्दा खाद्य सामग्रीको अभाव बजारमा देखिन थालेको गुनासो गरेका थिए । उनीहरुले सो वस्तु बजारमा पु¥याउन नसक्दा प्रयोग योग्य समयावधि समेत सकिन थालेको बताए ।

नेपाल खुद्रा व्यापारी संघका निवर्तमान अध्यक्ष पबित्र बज्राचार्यले, दोहोरो जोखिम घटाउन खुद्रा व्यापारीलाई व्यापार गर्न प्रोत्साहन गर्नुपर्ने सुझाव दिएका थिए । उद्योग बाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठसहितका प्रतिनिधिले, व्यापारी र प्रशासनबीचको समधुर सम्बन्ध स्थापित गराउन नीति अबलम्बन गर्न, स्वास्थ्य सुरक्षाका उपाय अबलम्बन गर्दै व्यापार प्रबर्धनका कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले अहिले लकडाउनको अवस्थामा अतिविपन्न, असहाय र मजदुरलाई मात्रै राहतको व्यवस्था मात्र नभई पैसा हुनेका लागि सामान किन्न बजारको पहुँच बनाउनु पर्नेम जोड दिए । उनले भने–‘भविष्यमा काठमाडौंको आर्थिक क्षेत्रमा हुन सक्ने जोखिमको पूर्वअनुमान गरेर, जोखिम घटाउने उपाय गर्नुपर्छ ।’ प्रमुख शाक्यले अहिलेसम्म काठमाडौँ महानगरपालिकाबाट मात्रै ६२ हजार ७ सय २२ जनाले राहत प्राप्त गरेको र १४ हजार ५ सय १७ जनालाई खाना खुवाएको जानकारी दिनुभयो ।

‘काठमाडौँ महानगरबाट मात्रै यति धेरैलाई राहत वितरण गर्ने र खाना खुवाउने काम भएको छ,’ उनले भने, ‘यति हुँदा पनि खाने कुराको समस्या भएर गाउँ फर्किन बाध्य भएको भन्ने समाचारहरु आइरहेका छन् । खानाकै समस्या भएर गाउँ फर्किनु पर्ने अवस्था आउन दिदैँनौ भनेर हामीले पटक–पटक भन्दै आएका छौँ । खान नपाउने जोसुकैलाई पनि हामी खाना खुवाउँछौं । भोकले मर्न दिँदैनौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योग सञ्चालन, उत्पादित सामानको ढुवानी र बजार व्यवस्थापनको चक्र बिग्रिन नदिन आग्रह गर्दै महानगरपालिकाले गाउँ फर्कने सबैलाई काठमाडौंमा बस्न अपिल गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले अहिलेसम्म काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका ८ सय ५६ जनाको ¥यापिड टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै अहिलेसम्मको अवस्थामा काठमाडौँ सुरक्षित रहेकाले हतार गरेर उपत्यका नछाड्न समेत आग्रह गरेका छन् । कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रहरी नायव महानिरीक्षक बिश्वराज पाखरेल, महानगरका सहसचिव राजेश्वर ज्ञवाली, ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालसहित व्यापारिक संघ संगठनका प्रतिनिधिहरुको सहभागी रहेको थियो ।