यस्तो छ नेपाल–भारत चल्ने रेलका विशेषता

विहीबार, ११ बैशाख २०७७, ०८ : ५८
यस्तो छ नेपाल–भारत चल्ने रेलका विशेषता

जनकपुर । कुर्था–जयनगर चल्ने रेलले १ हजार ३ सय यात्रु बोक्नेछ । यसको गति रेलको लिक डिजाइनअनुसार १ सय किलोमिटर प्रतिघन्टा रहेको छ । तर, रेल स्टेसनको दूरी छोटो हुने भएकाले ७० देखि ८० किलोमिटर प्रतिघन्टासम्मको गति हुनेछ । 

रेलमा चारवटा ‘कोच’ रहनेछन् । यो डेमु (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) रेल हो । नेपाल सरकारले भारत सरकारसँग जिटुजी (गभर्मेन्ट टू गभर्मेन्ट) खरिद प्रक्रियाअनुसार दुईवटा रेल ल्याउन लागेको हो ।  दुवै रेलको मूल्य ८४ करोड ६५ लाख ९५ हजार रुपैयाँ छ । नेपाल सरकारले खरिद मूल्य निकासा गरिसकेको छ ।

डेमु रेल दुवैतर्फबाट अर्थात् अगाडि–पछाडि दुवै दिशातर्फ गुड्छ । अन्तिम गन्तव्यमा पुगेपछि टर्निङ नगरी पछाडिको भागबाट अघि बढ्छ । यसको इन्जिन डिजेल र विद्युत् दुवैमार्फत सञ्चालन गर्न सकिन्छ । डिजेलले सञ्चालन हुने मेसिनले उत्पादन गरेको विद्युत्मार्फत चल्ने रेललाई डेमु रेल भनेर चिनिन्छ ।

यसअघि ४ चैत ०७५ मा मन्त्रिपरिषद्ले भारतीय सरकारी कम्पनी कोनकन रेलवेजमार्फत रेल खरिद गर्ने निर्णय गरेको थियो । यो रेल सेवा चैत अन्तिमसम्म सञ्चालनको तयारी थियो तर लकडाउनले अनिश्चित बनेको खबर नयाँ पत्रिकामा छापिएको छ ।