माधव नेपाललाई बोलाएर चार घण्टा के भने प्रधानमन्त्री केपि शर्मा ओलीले ?

सोमबार, ०८ बैशाख २०७७, ११ : ३८
माधव नेपाललाई बोलाएर चार घण्टा के भने प्रधानमन्त्री केपि शर्मा ओलीले ?

काठमाडौं । नेकपाभित्र अल्पमतमा छन्, प्रधानमन्त्री केपी शर्मा ओली । निर्णय प्रक्रियामा अहिलेसम्म कुनै बहुमत/अल्पमत नगरिएपनि पार्टीले सर्वसम्मत गरेको निर्णय कार्यान्वयनमा समेत प्रधानमन्त्री ओलीले अटेर गरेबाट थाहा हुन्छ– उनी पार्टीका सचिवालय, स्थायी समितिदेखि केन्द्रीय समितिसम्मै अल्पमतमा छन् ।

उनी पार्टीभित्रका कमिटीहरुमा अल्पमतमा पर्नुमा अन्य कारण होइन, उनको आफ्नै व्यक्तिगत कार्यशैली र स्वभावका कारण हो । सरकारको नेतृत्वमा ओली छन् । झण्डै दुई तिहाई जनमत रहेको नेकपाको सरकारको कमाण्ड उनै पार्टी अध्यक्ष समेत रहेका ओलीले सम्हालिरहेका छन् ।

तर सामान्य सिद्धान्तमा पनि उनी टिक्न चाहिरहेका छैनन् । पार्टी निर्णय मातहत रहेर सरकार सञ्चालन गर्नु पर्नेमा उनले त्यसो गरेनन् । आफै ब्रम्हज्ञानी र आफू एउटै सिंगो नेकपा भए जस्तो हुकुमी शैली प्रधानमन्त्री ओलीमा बारम्वार देखिंदै आयो । सोही कारण पनि उनको कार्यशैली र प्रवृतिका विरुद्ध सचिवालयका बहुमत सदस्यले उनलाई पार्टी मातहत सरकार सञ्चालनको लागि पटक पटक सुझाव दिँदै आए । तर पनि ओलीले ति सुझावलाई सुन्न चाहिरहेका छैनन् ।

बरु उनी पार्टीभित्र अन्तरविरोध बढाउने, नेताहरुलाई विभिन्न प्रलोभन देखाउने र आफूतिर तान्ने कोशिस गर्ने, त्यो पनि हुन नसक्दा नेताहरुलाई ब्ल्याकमेलिङ गरेरै कहिले के विषयमा नेताहरुलाई जोड्न सकिन्छ र धम्काउन सकिन्छ भनेर लाग्ने प्रवृत्तिका कारण उनको पार्टी र सरकारको पकड क्रमशः खुम्चिदो छ । 

सोही कारण पनि उनी अहिले अध्यक्ष प्रचण्डका विरुद्ध मोर्चावन्दीका लागि अनेकन प्रयासमा छन् । त्यसका लागि उनी आफैले माधव नेपाल महासचिव हुँदा सधै समानान्तर गुट बनाएर असजिलो पार्ने र अहिले पार्टी एकताका क्रममा पनि नेपाल निकट नेताहरुलाई पाखा लगाएर आफ्ना निकटलाई मात्र काखी च्याप्पेर सँधै कर्नरमा पार्न खोजिएका माधव नेपालको साथ खोजिरहेका छन् ।

सामान्य स्वास्थ्य लाभको कामना पार्टीकै वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले दिँदा समेत सहज स्वीकार नगरी भनाभनमा उत्रने प्रधानमन्त्री ओली अहिले आफू अप्ठायारोमा परेपछि वरिष्ठ नेता माधव नेपाललाई फकाउने अनेक प्रयासमा छन् ।

त्यही क्रममा उनले आफू निकट नेताहरुको बाक्लो जमघट कोरोनाले मुलक लकडाउनमा नरहदासम्म नेपालको कोटेश्वरस्थित निवासमा गराईरहेका थिए ।

आफैले पनि बालुवाटार बोलाएर पटकपटक उनले नेपालसँग कम्तीमा चार घण्टा भन्दा लामो छलफल गदै आईरहेका छन् । आइतबार पनि उनले सोही अनुसार,  नेपाललाई बोलाएर बालुवाटारमा चार घण्टा लामो छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रका समकक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेको भोलिपल्टै वरिष्ठ नेता नेपाललाई बोलाएर गोप्य भेटवार्ता गर्नुभित्र आफ्नो समुह अर्थात तत्कालिन एमाले धारको एकताको प्रयास देखिन्छ ।

अझ पनि पूर्व पार्टीका आधारमा पूर्व समुह ब्यूताउने कुराले नेकपाको भविष्य नै संकटमा पर्छ । यस्तो प्रयास कुनै पनि पूर्व धारले गर्न नहुने नेता कार्यकर्तासम्मको मत छ । तर त्यस विपरित अहिले प्रधानमन्त्री ओली पूर्व एमाले धारको एकता खोजी गरिरहेका छन् ।

त्यही क्रममा उनले आइतबार माधव नेपालसँग बालुवाटारमा लामो छलफल गरेका हुन् ।

नेपाललाई प्रधानमन्त्री ओलीले आफूसँगको छलफलका लागि शनिबार बेलुकी फोन गरी निम्तो गरेका थिए । त्यसपछि उनी आइतबार बिहान ९ बजे बालुवाटार प्रवेश गरेका थिए ।

ओलीले नेपालसँगै बसेर लन्च खानेदेखि बेला–बेला औषधी समेत लिँदै नेपालाई फकाउन अनेक प्रयास गरेको बालुवाटार स्रोत बताउँछ । अघिल्लो दिन शनिबार ओलीसँगको भेटमा प्रचण्डले पार्टी बैठक बोलाउन, बैठकमै निरन्तर छलफल गर्न र विवाद देखिएका विषय आन्तरिक रुपमै समाधान खोज्न आग्रह गरेका थिए ।

अध्यक्ष प्रचण्ड पार्टी निर्णय कार्यान्वयमा ढृढतापूर्वक उभिने र पार्टी मातहात सरकार सञ्चालन हुनुपर्ने पक्षमा छन् । सरकारको काम प्रभावकारी बनाउनु पर्ने मत पनि उनले उठाईरहेका छन् ।

तर प्रचण्डको यस्तो कुरा प्रधानमन्त्री ओलीलाई पाच्य भइरहेको छैन । त्यही कारण पनि प्रचण्डलाई पार्टीभित्र एक्लाउने र कर्नरमा पार्ने प्रयासमा ओलीले अहिले वरिष्ठ नेता माधव नेपाल फकाउने प्रयासमा लागेका हुन् ।

उनले आइतबारको छलफलमा पनि नेपालसँग सरकारलाई सहयोग गर्न, दुई नेता मिलेर अगाडि जानका लागि प्रस्ताव गरिरहेका छन् । त्यसका लागि नेपालसँग उनले अनेक प्रलोभन पनि देखाइरहेका छन् । तर नेपाल पक्षले ओलीको प्रष्ट कार्ययोजनाको खाका पहिले आउनु पर्ने बताइरहेको छ ।

तर आइतबारको छलफलमा नेता नेपालले सरकार पार्टीको संस्थागत निर्णयका आधारमा अगाडि बढ्नुपर्ने र आहिले एकले अर्काे पक्षलाई भडकाउने र कर्नरमा पार्ने गरी आफू जान नचाहेको धारणा राखेको माधव नेपाल निकट एक नेताले बताएका छन् ।

दुई नेताबीच चार घण्टाको छलफलमा पनि न ओलीले नेपाललाई फकाउन सकेका छन्, न नेपाल नै फक्किएका छन् । यस्ता सम्वाद र छलफल फेरि निरन्तरता दिने भन्दै त्यसपछि नेपाल बालुवाटारबाट दिउँसो सवा १ बजे निवास फर्केको बालुवाटार स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस