काठमाडौ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनले मिडियाकै दवावका कारण आफूलाई कारबाही गर्ने निर्णयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ब्याक भएको बताएका छन् । उनले मिडियासँग आफ्नो कुनै गुनासो नरहेको बरु आभार व्यक्त गरेका छन् ।
अन्तरवार्ता दिँदै उनले भनेका छन्, ‘गुनासो होइन, आभार व्यक्त गर्न चाहन्छु । धेरै मिडियाले मलाई साथ दिनुभयो । शेरबहादुर पुनलाई व्यक्तिगत रूपमा माया गरेर होइन, एउटा पेसाकर्मीलाई हतोत्साही गर्न पाइँदैन भनेर उहाँहरूले लेख्नुभएको हो ।’ उनले अगाडि भनेका छन्, ‘सत्यतथ्य बाहिर ल्याउने र न्यायको पक्षमा बोल्ने नेपाली मिडियाप्रति म गर्व गर्छु । मिडियाकर्मीले सत्यतथ्य बाहिर ल्याइदिनुभयो, त्यसैले त मलाई कारबाही गर्ने तयारी स्थगित भयो । अस्पतालमा पुगेको पत्र किन परिवर्तन भयो भन्ने त सबैले बुझिहाल्नुहुन्छ होला ।
म मन्त्रालय उपस्थित हुन नपाउँदै मेरो आवाज मिडियाबाट मन्त्रालय पुगिसकेको थियो । समाचार कारण जनताको दबाब बढेको हो । यसले गर्दा नै उहाँहरूलाई सोच्न बाध्य बनाएको हुनुपर्छ । अन्यथा कति धम्की आउँथे, मलाई थाहा छ ।
तर, मिडिया र जनताका कारण आइतबार माहोल पूरै परिवर्तन भयो । यही प्रसंगमा पनि म भन्न चाहन्छु– तपाईंहरूजस्ता मिडियाकर्मीले अन्यायको विरुद्ध बोल्नुभएको छ, न्यायको पक्षमा आवाज उठाउनुभएको छ । सत्यतथ्य बाहिर ल्याउनुभएको छ । यसमा कुनै दुईमत छैन । मलाई चिठी लेख्नेदेखि धम्की दिनेसम्मका काम भएका थिए, मिडियाकै कारण ती सबै ‘ब्याक’ भएका हुन् । यो सब प्रसंगमा एक दिन म आफैँले लेख्नेछु ।’
डा पुनले जनतालाई नियमित सुसूचित गराउने कुरामा आफू निरन्तर लागिरहने पनि बताएका छन् । उनले आफूमाथि कारबाहीकै तयारी भएको तर ‘आइतबार मन्त्रालयमा पुग्दा स्थिति फेरिएको थियो’ भनेका छन् । उनले आफूलाई मन्त्रालय तानेको समाचार सार्वजनिक भएसँगै आफूलाई दिन पठाएको पत्र फिर्ता भएको हुनुपर्ने र अर्को पत्र पनि त्यही कारण बनेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
यसअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा डा पुनलाई कारबाही गर्न पत्राचार गरिएको खुलासा भएको थियो । तर, व्यापक आलोचनापछि त्यसको २४ घण्टा नबित्दै मन्त्रालय र पुनबीच सहमति भएको थियो । मन्त्रालयद्वारा गरिने नियमित पत्रकार सम्मेलमा कोरोना उपचार र पहिचानको विषयमा छलफल गर्नका लागि डा पुनलाई डाकेको मन्त्रालयले दाबी गरेको थियो ।
सामाजिक सञ्जाल र मिडियाहरुले कुरा नबुझिकन मन्त्रालय र मन्त्री भानुभक्त ढकाललाई अनावश्यक टिकाटिप्पणी नगर्न मन्त्रालयले ध्यानाकर्षण समेत गराएको थियो । यस्तै पुनले पनि मन्त्रालयसँगको सहमतिपछि पुनले पनि आफू मन्त्रालयमा नतानिएको र शुक्रराज ट्रपिकल अस्पतालमा नै कार्यरत रहने र आवश्यक परेको खण्डमा मन्त्रालयमा आएर सघाउने सहमति भएको जानकारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले गर्यो १४ जना चिकित्सकको काज फिर्ता