कोरोनाभाइरस बिमा योजना सुरु, पीसीआर रिपोर्ट पोजेटिभ देखिएमा भुक्तानी पाउने

पत्रपत्रिकाबाट

शुक्रबार, ०५ बैशाख २०७७, ०७ : ४२
कोरोनाभाइरस बिमा योजना सुरु, पीसीआर रिपोर्ट पोजेटिभ देखिएमा भुक्तानी पाउने

काठमाडौं । बिमा समितिले कोरोना भाइरससम्बन्धी बिमा गर्नका लागि निर्जीवन बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ । हाल जीवन बिमा कम्पनीहरूले सञ्चालन गर्दै आइरहेको घातक रोग सरहको बिमालेख अनुसार कोरोनाभाइरस (कोभिड–१९) बिमा लेख जारी गर्न निर्देशन दिएको हो ।

नेपालमा १६ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टी भएपछि समितिले बिहीबार यसको सुरक्षाका लागि बिमालेख जारी गर्न निर्देशन दिएको हो । संक्रमणको जोखिम बढेकाले ग्रामीण क्षेत्रसम्म न्यून आय भएको मानिसहरूलाई आर्थिक सुरक्षण प्रदान गर्न बिमा योजना अघि सारिएको समितिले जनाएको छ ।

कम्पनीहरूले ५० हजार र १ लाख रुपैयाँ बिमांक रकम बराबरको बिमालेख जारी गर्न सक्नेछन् । ५० हजार रुपैयाँ बिमांक बराबरको बिमा लेख जारी गर्दा बिमा शुल्क तीन सय देखि पाँच रुपैयाँ तोकिएको छ । एक जनाको मात्र बिमा लेख जारी गर्दा प्रतिव्यक्ति ५०० रुपैयाँ र परिवारका सबै सदस्यको समेत बिमा गर्दा प्रतिव्यक्ति ३०० रुपैयाँ बिमा शुल्क लिन पाउनेछन् । यसैगरी एक लाख रुपैयाँ बिमांक बराबरको बिमा पोलेसी जारी गर्दा व्यक्तिगत बिमामा बिमा शुल्क एक हजार रुपैयाँ र परिवारका सबै सदस्यको गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ तोकिएको छ ।

कम्पनीहरूले कोरोना भाइरस बिमा लेख जारी गर्दा हाल कायम लघुबिमा जस्तै अघि बढाउन समितिले निर्देशन दिएको छ । यो बिमालेख पनि अन्य लघुबिमा जस्तै लघुबिमा पुलमार्फत जारी गर्न सकिने व्यवस्था गरिएको छ । समितिले कृषि र घुम्ती बिमा संचालन गर्न तोकिएका जिल्लाहरूका कम्पनीहरूले अनिवार्य रूपमा कोरोना भाइरस बिमालेख समेत जारी गर्नुपर्नेछ । कोरोना भाइरसको बिमालेखको १५ दिन प्रतिरक्षा अवधि तोकिएको छ । यस अवधि सकिएपछि पीसीआर रिपोर्ट पोजेटिभ देखिएमा बिमितले दावी भुक्तानी प्राप्त गर्नेछन् । करोबार दैनिकमा खबर छ 

प्रतिक्रिया दिनुहोस