आगलागीबाट यान्त्रिक साधन जल्यो, ५० लाखको क्षति

विहीबार, ०४ बैशाख २०७७, ११ : ०६
आगलागीबाट यान्त्रिक साधन जल्यो, ५० लाखको क्षति

file Photo

जलेश्वर । कोभिड–१९ को सन्त्रासका बीच महोत्तरीको लोहारपट्टी नगरपालिका–५ मा बुधबार मध्यराततिर भएको आगलागीले ५० लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको छ ।

लोहारपट्टी–५ को लोहारपट्टी बस्तीकै गुलाम रशुलको ट्र्याक्टर, थ्रेसर राख्ने घरमा भएको आगलागीले ज १ त ७८६० नंको ट्र्याक्टर, थ्रेसर, धानसहितका अन्न पेल्ने यन्त्र र अन्य यान्त्रिक साधन र घरसहित ५० लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको हो । आगोले ट्र्याक्टर र थ्रेसरका पाटपुर्जा र घर जलेर खरानी भएको छ ।

आगो लागेको ठाउँमा पेट्रोलको गन्ध निकै आएको हुँदा यो नियोजित आगलागी भएको गुलाम रसुलका छिमेकीहरुको अनुमान छ । मध्यरातमा भएको आगलागी घटनाले छिनभरमै यान्त्रिक साधन सबै खरानी बनाएको गुलाम रशुलकै छिमेकी बेचन शेषले बताए ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेर गरिएको र यसबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय लोहारपट्टीका प्रमुख मोहम्मद अतावुलले जानकारी दिए । (रासस)