संसद् कोषको रकम कोरोना कोषमा लगाउने सहमति

पत्रपत्रिकाबाट

बुधबार, ०३ बैशाख २०७७, ०८ : ४४
संसद् कोषको रकम कोरोना कोषमा लगाउने सहमति

काठमाडौं । संघीय सांसद र प्रदेश सांसदहरूले कोरोना उपचार र रोकथाममा सांसद विकास कोषको रकम दिन सहमति जनाएका छन् । संघीय संसद् सचिवालयको नेतृत्वमा भएको छलफलमा संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका समिति सभापति, प्रदेशसभाका सभामुखसँगको छलफलमा यस्तो सहमति जुटेको हो ।

संसद् विकास कोषको रकम कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने विषयमा सातै प्रदेशका सभामुख र उपसभामुखहरू सहमत भएपछि संघीय संसद् सचिवालयले सो जानकारी दिएको हो ।

संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार विश्व नै संकटमा परेको र मुलुकभित्र पनि संक्रमितको संख्या दिनानुदिन बढिरहेकाले त्यसको रोकथाममा संघ र प्रदेशका सांसदहरूले यस्तो सहमति जुटाएका हुन् ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार गरेको प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठक र प्रदेशसभाका सभामुख र उपसभामुखको छलफलमा सांसद विकास कोषको रकम कोरोना उपचार कोषमा पठाउने सुझाव आएको थियो ।

संसद् सचिवालयका प्रवक्ता पाण्डेका अनुसार सो सुझाव कार्यान्वयन गर्न सभामुख सापकोटाले नोबल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमार्फत सरकारलाई आग्रह गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्मानननीय सभामुखज्यूले सातवटै प्रदेशका माननीय सभामुख र माननीय उपसभामुखहरूसँग गर्नुभएको छलफल तथा कार्य व्यवस्था परामर्श समितिका माननीय सदस्यहरूबाट प्राप्त सुझावहरूको कार्यान्वयन गर्न नोबल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिमार्फत नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय भयो ।’ राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस