कम्युनिस्ट राजनीतिमा ‘ब्रेक थ्रु’ मिले एमाले-माओवादी

पत्रपत्रिकाबाट

मंगलबार, ०८ फागुन २०७४, ०६ : ५०
कम्युनिस्ट राजनीतिमा ‘ब्रेक थ्रु’ मिले एमाले-माओवादी

नेपालका दुई शक्तिशाली कम्युनिस्ट पार्टी नेकपा एमाले-माओवादी केन्द्रले पार्टी एकताको औपचारिक घोषणा गरेका छन् । हालै सम्पन्न निर्वाचनमा संसद्मा पहिलो र तेस्रो ठूलो दल बनेका यी दुवै पार्टीका अध्यक्षसहित एकता संयोजन समितिमा रहेका सबै नेताले एकताको सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै सोमबार मध्यराति पार्टी एकता घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको एकता संयोजन समिति बैठकमा पार्टी नेतृत्व, कार्यदिशालगायत विषयमा सहमति जुटेपछि एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने अठोटसहित नेताहरूले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। एकतापछि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद-लेनिनवाद बनाउने गरी दुई पार्टीले कम्युनिस्ट आन्दोलनकै इतिहासमा ‘आइस ब्रेक’ गरेका हुन् ।

कम्युनिस्ट पार्टी स्थापनाको ६८ वर्षको इतिहासमा एमाले-माओवादीको एकता ठूलो परिघटना हो। एकताको प्रारम्भिक आधारको सहमतिपत्रमा हस्ताक्षरपछि नेताहरूले यसलाई कम्युनिस्ट आन्दोलनमा मात्र नभई देशको सुशासन, स्थायित्व र विकासकै लागि ऐतिहासिक परिघटना भनेका छन्।

२००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो। तर २०१९ सालको तेस्रो महाधिवेशनसँगै कम्युनिस्ट पार्टीमा विभाजनको शृंखला कोरिएपछि यी दुई पार्टीले फरक-फरक स्कुलिङमा पार्टी चलाउँदै आएका थिए। सोमबार एकताको घोषणा गरेका यी दुई पार्टीको ५५ वर्षपछि पुनर्मिलन भएको हो।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।
 

संयुक्त नेतृत्व, आलोपालो प्रधानमन्त्री
एकीकृत पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले संयुक्त रूपमा गर्ने भित्री समझदारी पनि यी दुई पार्टीले बनाएका छन्। लिखित समझदारीमा यो विषय उल्लेख नभए पनि नेताहरूबीच समझदारी भएको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए। ‘पार्टीको बैठकमा आलोपालो अध्यक्षता गर्र्ने र सरकारमा साढे दुई-साढे दुई वर्ष आलोपालो नेतृत्व लिने सहमति हामीबीच भएको छ,’ बैठकपछि नेता खनालले अन्नपूर्णसँग भने, ‘पार्टी एकताकै लागि यो एउटा महत्वपूर्ण ब्रेक थु्र हो।’

दुई कार्यदल गठन
एमाले-माओवादीले एकीकृत पार्टी सञ्चालन गर्न दुई छुट्टाछुट्टै कार्यदल पनि सोमबारको बैठकबाटै गठन गरेका छन्। एकीकृत पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न नौ सदस्यीय समिति गठन भएको छ। समितिमा माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल छन्।

प्रतिक्रिया दिनुहोस