आरडिटीबाट यसरी गरिन्छ कोरोना परिक्षण

मंगलबार, ०२ बैशाख २०७७, ०७ : ३२
आरडिटीबाट यसरी गरिन्छ कोरोना परिक्षण

काठमाडौँ । ओम्नी ग्रुपबाट विवादास्पद ढंगले किनिएको ७५ हजार र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किट सरकारले ७७ वटै जिल्लामा कोभिड–१९ को परीक्षणका लागि पुर्‍याइसकेको छ । सो किटबाट तीन हजारभन्दा बढीमा परीक्षण पनि भइसकेको छ ।

आरडीटी किट चीनको ग्वान्जाउ वन्डफो बायोटेक कम्पनीले उत्पादन गरेको यो किटको विश्वसनीयतामा विश्वभर नै सन्देह प्रकट भइरहेका छन् । आरडीटीले शरीरमा कोभिड–१९ को संक्रमण भएको तीन दिनपछि मात्रै गरिएको परीक्षण सही हुने दर बढ्ने बताइएको छ । तर सात दिनपछि नेगेटिभ रिपोर्ट आएको र पछि पीसीआरमा पोजेटिभ भएको पनि पाइएको छ ।

एन्टिबडी पत्ता लगाउने आरडीटीले ‘इम्युनोग्लोब्युलिन–एम’ (आईजीएम) वा ‘इम्युनोग्लोब्युलिन–जी’ (आईजीजी_ रगतमा भएरनभएको हेर्ने हो । आईजीएम भनेको शरीरमा संक्रमण भएको थोरैमा पनि तीन दिनपछि मात्रै उत्पादन सुरु हुन्छ । संक्रमण भएको केही सातापछि ९थोरैमा पनि दुई साता० आईजीएमको स्थानमा शरीरले आईजीजी निकाल्न थाल्छ ।

सामान्य रूपमा बुझ्दा शरीरमा आईजीएम देखिनु संक्रमणको सुरुवाती अवस्था हो भने आईजीजी देखिए संक्रमण भएर पनि त्यसविरुद्ध शरीरमा प्रतिरोधी क्षमता विकास भएको भन्ने बुझिन्छ । दुवै देखिए शरीर संक्रमणमुक्त भइनसकेको अवस्था हो ।

यसरी हुन्छ परीक्षण

आरडीटी किटबाट परीक्षणका लागि संक्रमण भएको आशंका गरिएको व्यक्तिबाट रगतको नमुना संकलन गरिन्छ । औंलाको टुप्पोमा सुईले घोपेर प्वाल पारी केही थोपा रगत मात्रै निकाले पनि पुग्छ ।

रगतको परीक्षण गर्नुपूर्व आरडीटी किटको प्याकेटलाई कोठाको तापक्रमसँग समायोजन हुन दिन निकालेर राख्नुपर्छ । त्यसपछि प्याकेटबाट किटलाई निकालेर त्यसको सानो प्वालमा १५ माइक्रोलिटर (एक थोपाको आधा भागभन्दा पनि कम) रगतको नमुना राखिन्छ । त्यसपछि ठूलो प्वालमा ३ थोपा बफर राखिन्छ ।

बफर राखिसकेपछि किटमा भएको कोभिड–१९ भाइरसको एन्टिजेन डाईसँग त्यसमा राखिएको रगतको नमुना मिसिन्छ । त्यो किटमा रहेको टेस्ट रिजल्ट देखाउने भागमा सोसिएर जान्छ । उक्त रगतको नमुनामा कोभिड–१९ संक्रमण भएर शरीरमा बनेको एन्टिबडी भए ‘टी’ लेखिएको धर्कोको रातो देखिन्छ । यस्तै परीक्षण गरिएको विधि ठीक भएर ‘सी’ लेखिएको स्थानको रङ पनि रातो हुन्छ । त्यो भनेको रगत परीक्षण गरिएको व्यक्तिलाई कोभिड–१९ को संक्रमण छ भन्ने हो । कान्तिपुर दैनिकमा खबर छ । 
 

प्रतिक्रिया दिनुहोस