२२ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण

आइतबार, ३० चैत्र २०७६, १७ : १०
२२ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण

एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणमा परेकाको उपचारमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीहरु नै यसको चपेटामा परेका छन् ।

विश्वभर २२ हजार भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको विश्वस्वास्थ्य संगठनले बताएको छ ।

डब्लुएचओका अनुसार अहिलेसम्म विश्वका ५२ देशमा २२ हजार ७३ स्वाथ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

तर सबै देशबाट स्वास्थ्यकर्मीलाई भएको संक्रमणको यकिन जानकारी प्राप्त नभएकाले यो संख्या बढी हुन सक्ने डब्लुएचओले जनाएको छ ।

कोरोना भाइरसविरुद्धको विश्वव्यापी अभियानमा अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीले अहम भूमिका निर्वाह गरिरहेको भन्दै डब्लुएचओले उनीहरुको प्रशंसा पनि गरेको छ ।

स्वास्थ्यकर्मीमा संक्रमण नहोस् भन्नका लागि अधिक सावधानी अपनाउन डब्लुएचओले आग्रह गरेको छ ।