कम्पनीले बेतलबी बिदा दिएपछि दुबईमा नेपाली कामदारको बिचल्ली

विहीबार, २७ चैत्र २०७६, १६ : ५५
कम्पनीले बेतलबी बिदा दिएपछि दुबईमा नेपाली कामदारको बिचल्ली

एजेन्सी । कोरोनाभाइरसको महामारी फैलिएसँगै आफू कार्यरत कम्पनीले बेतलबी बिदा दिएपछि दुबईमा रहेका नेपाली कामदारको बिचल्ली भएको छ ।

उनीहरु अवका दिन कसरी विताउने र रोजगारी गुम्ने डरले विचलित भएका छन् । युएईले यसबेला श्रमिक कटौती गर्ने र सम्बन्धित कम्पनीले चाहेमा उनीहरुलाई काम नभएको समय अवधि तलब नै नदिन समेत पाउने नियम लागु गरेको छ । रोजगारदाताले कामदारलाई कुनै सुविधा नदिने निर्णय गरिदिएमा नेपाली कामदार बसिरहन सक्ने स्थिती हुने छैन । उक्त निर्णयले गर्दा धेरैले रोजिरोटी गुमाएका छन्। यसो भएमा नेपाली कामदारहरु ठूलो संख्यामा बेरोजगार भएर स्वदेश फर्किने स्थिती आउने निश्चित छ ।

मार्च महिनाबाट कम्पनीले बेतलवी विदा दिएकाले थप समस्यामा परेको यूएईस्थित एक होटलमा कार्यरत गोविन्द भट्ट बताउँछन् । उनी पाँचजना नेपाली साथीहरुसँगै विगत ३५ दिनदेखि सेल्फ क्वारेन्टाइनमा बस्दै आइरहेका छन् । होटल बन्द भएपछि उनीहरुलाई होटलले बस्ने व्यवस्था त गरिदिएको छ तर खानालगायत सम्पूर्ण व्यवस्था आफैले गर्नुपर्ने भएकाले समस्यामा परेको उनी बताउँछन् ।

लामो समयदेखि बाहिर ननिस्किएकाले अहिलेसम्म आफूहरु सुरक्षित रहेको र आफ्नो देश फर्कन चाहेको उनीहरु बताउँछन् । उनी भन्छन्, ‘नेपाल सरकारसँग हामी अपिल गर्न चाहन्छौं, लामो समयदेखि हामी सेल्फ क्वारेन्टाइनमा बसेकाले सुरक्षित छौं । अव विस्तारै हामीलाई खानालगायतको समस्या हुने छ अनि हामी कसरी बस्ने रु त्यसैले हामीलाई उद्धार गरेर स्वदेश फर्काइयोस् । हामी सम्पूर्ण सुरक्षा सतर्कताका नियमहरु पालना गर्न तयार छौं ।’

उनीहरुहले नेपाल फर्कने वातावरण बनाइदिन नेपाली दूतावासमा पनि बारम्बार अपिल गरे पनि नेपाल सरकारको निर्णय कुर्न बाहेक केही गर्न नसक्ने दूतावासले बताएको छ । साथै गैर आवासिय नेपाली संघ युएईले पनि नेपाल सरकारसँग खाडीमा रहेका नेपालीहरुको उद्धार गर्न बारम्बार आग्रह गर्दै आइरहेको छ । 

सर्वोच्च अदालतले पनि खान, बस्न र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा विपतमा परेका नेपाली नागरिकहरुको पहिचान गरि नेपाल फर्कन चाहनेलाई सम्बन्धित मुलुकसँग कुटनैतिक माध्यमबाट समन्वय गरि नेपाल ल्याउन व्यवस्था गर्न सरकारलाई आदेश दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस