दुबई । वैदेशिक रोजगारीको सिलसिलामा २२ महिनाअघि दुबई पुगेकी काभ्रेपलाञ्चोककी रमिता रमतेल अन्ततः सुरक्षित रूपमा स्वदेश फर्किएकी छन्। घरेलु कामदारका लागि दुबई पुगेकी रमिता घर मालिक र मालिक्नीबाट पाएको चरम मानसिक यातना सहन नसकी घरबाट भाग्नुपरेको थियो।
घरबाट भागेपछि तीन दिनसम्म खुला आकाशमुनि अलपत्र अवस्थामा बिताएकी उनलाई सहयोग गर्ने बहानामा उल्टै नक्कली संस्थाहरूले ठगी गरेको खुलासा भएको छ।
सडकमा पुगेकी पीडित रमितालाई सहयोग गर्ने भन्दै केही व्यक्तिहरूले आफूलाई एनआरएनएको प्रतिनिधि बताएर झुक्याएका थिए। उनीहरूले रमिताको परिवारबाट नेपाल फर्काइदिने, टिकट र कानुनी सहायता मिलाइदिने बहानामा करिब १ लाख ४० हजार नेपाली रुपैयाँ असुलेका थिए। नक्कली एनआरएनएको नाम प्रयोग गर्नेहरूले कृत्रिम कागजात र नक्कली टिकट बनाएर उनलाई पटक–पटक एयरपोर्ट पुर्याउने र फर्काउने गर्दै १८/१९ महिनासम्म अलपत्र पारेको पाइएको एनआरएनएका उपाध्यक्ष मनोज गोर्खालीले बताए । यसले गर्दा उनी थप मानसिक तनावमा परेकी थिइन्।
अन्ततः रमिता वास्तविक गैरआवासीय नेपाली संघ (एनआरएनए यूएई) को सम्पर्कमा पुगेकी थिइन्। वास्तविक संघको सम्पर्कमा आएपछि मात्र ११ दिनभित्र सम्पूर्ण कानुनी र कागजी प्रक्रिया पूरा गरी उनलाई सुरक्षित रूपमा नेपाल फर्काउन सफल भएको उपाध्यक्ष मनोज गोर्खालीले जानकारी दिए।
आज स्वदेश फर्किने क्रममा उनले सहयोगीहरूलाई धन्यवाद व्यक्त गरिन् । रमितालाई नेपाल फर्काएपछि गोर्खालीले कलिलो उमेर र पर्याप्त शिक्षा तथा सीप बिना विदेश आउँदा कस्तो पीडा भोग्नुपर्छ भन्ने यो एउटा जीवन्त र दुःखद उदाहरण भएको बताए ।
यस उद्धार कार्यमा एनबरएनए यूएईका अध्यक्ष भीम मल्ल ठकुरी, सचिव सबिन योन्जन, सदस्य विजय श्रेष्ठ र सिन्धुपाल्चोक तामाङ समाज युएईका महासचिव राम तामाङ लगायतको टोलीले विशेष भूमिका निर्वाह गरेको गोर्खालीले बताए। उपाध्यक्ष गोर्खालीले पीडितहरूको पीडामा मलम लगाउन पाउँदा आत्मसन्तुष्टि मिल्ने बताउँदै उद्धारमा खटिने सम्पूर्ण टिमप्रति आभार व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ बैशाख २०८३, ०८ : ४७
लेखकबाट थप