बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा मात्र लकडाउन केन्द्रित भएको छ । बिश्वभर कोरोना भाइरस ( कोभिड १९) को महामारी फैलिरहेको बेला सदरमुकाम चैनपुर सुनसान बनेपनि गाउँघरमा चहलपहल बढेको छ । महामारीसँगै सरकारले बैशाख ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको भएपनि बझाङ जिल्लालाई भने लकडाउनले छोएको छैन ।
जिल्लामा लकडाउनको बेवास्ता गरी गाउँमा मानिसहरु जम्मा गरी सभा समारोह, भोज भतेर, पुजाआजा, मेला पर्व गर्ने कार्य रोकिएको छैन । सदरमुकाम चैनपुर केन्द्रित लकडाउनले सदरमुकाम त जोगिएला तर गाउँघरमा कोरोना भाइरस ( कोभिड १९) फैलिने डर जिल्लावासीमा छाएको छ ।
रोजगारीका लागि भारत गएका धेरै मानिसहरु लुकीछिपी गाउँमा फर्किसकेका छन । भारतबाट फर्केका कही मानिसहरु क्वारेन्टाइनमा बसेका भएपनि कही मानिसहरु खुलेयाम बजारतिर हिँडिरहेका जयपृथ्वी नगरपालिका १० का पवित्र रसाइलीले बताए ।
उनले भने भारतबाट आएका मानिसहरु खुलेयाम बजारमा हिडडुल गरिरहेको जानकारी स्थानीय जनप्रतिनिधी लाई जानकारी गर्दा समेत बेवास्ता गर्ने गरेका छन ।
सदरमुकाम चैनपुरमा प्रहरीले माइकिङ गरी अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन सर्बसाधारणलाई अनुरोध गरिरहेका बेला गाउँमा भने लकडाउनको कुनै प्रभाव परेको देखिदैन । यसरी बिश्वमा महामारी फैलिरहेको बेला हजारौको संख्यामा उपस्थित गराएर मेला पर्व, भोजभतेर, गोष्ठी, समारोह लगायतका कार्यक्रमहरु गरिरहेको भएपनि यहाँका सरोकारवालाहरु मुकदर्शक बनेका छन । यसरी सरकारको निर्देशनको अटेरी गरे जिल्लामा पनि महामारी रुप नलेला भन्न सकिन्न ।
नेपालमा कोरोना भाइरसका ९ जना संक्रमित भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवतजावतमा समेत रोक लगाएको बेला सबैले लकडाउनको पालना गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस