मास्क खोसेर अमेरिकाले 'डकैती गरेको' जर्मनीको आरोप

शनिबार, २२ चैत्र २०७६, १६ : १७
मास्क खोसेर अमेरिकाले 'डकैती गरेको' जर्मनीको आरोप

बीबीसी । जर्मनी लैजान ठिक्क पारिएका दुई लाखबटा मास्क अमेरिकातर्फ लगिएपछि अमेरिकामाथि 'आधुनिक डकैती' को आरोप लगाइएको छ ।

बर्लिनस्थित एक स्थानीय सरकारले अमेरिकामा बनाइएका ती मास्क ब्याङ्ककमा जफत गरिएको बताएको छ ।

बर्लिनको प्रहरीका निम्ति मगाइएका ती FFP2 मास्क गन्तव्य पुग्न पाएनन् ।

अहिले कोरोनाभाइरस सङ्क्रमणाबट युरोपेली देश र अमेरिका अतिप्रभावित भएको देखिएको छ ।

निर्यातमा प्रतिबन्ध
बर्लिनका आन्तरिक मामिलामन्त्री आन्द्रियास गिजेलले ती मास्क अमेरिकातर्फ लगिएको ठानिएको बताए ।

मास्क निर्माता अमेरिकी कम्पनी थ्री एमलाई कोरियाली युद्धताका निर्मित कानुनको उपयोग गर्दै राष्ट्रपति ट्रम्पले आफ्ना उत्पादन अन्य देशमा निर्यात गर्नबाट प्रतिबन्ध लगाइदिएका थिए ।

शुक्रवार ट्रम्पले डिफेन्स प्रोडक्शन एक्ट नामक कानुनको प्रयोग गरेर मेडिकल सामग्रीको आपूर्ति घरेलु माग धान्नकै निम्ति अमेरिकी कम्पनीहरूलाई बाध्य गराइएको बताए ।

"ती सामान तत्काल हामीलाई घरेलु प्रयोगलाई चाहिन्छ," ट्रम्पले भने ।

'आधुनिक डकैती'
ट्रम्पले झन्डै दुई लाख एन९५ रेस्पिरेटर मास्क, एक लाख ३० हजार सर्जिकल मास्क तथा छ लाख पन्जा जफत गरेर अमेरिकी अधिकारीहरूले कब्जामा लिएको बताए ।

तर ती कहाँ त्यसरी जफत गरिएका हुन् भन्ने उनले खुलाएनन् ।

जर्मन मन्त्री गिजेलले त्यसरी बर्लिन ल्याउन लागिएको मास्कलाई अन्यत्र लगिनु 'आधुनिक डकैती' सरह भएको बताए ।

उनले ट्रम्प प्रशासनलाई व्यापारका नियम मान्न भनेका छन् ।

"आफ्ना एट्लान्टिक पारका साझेदारहरूसँग व्यवहार गर्ने यो उपयुक्त शैली होइन । विश्वव्यापी सङ्कटकै बेला पनि यस्ता जबरजस्ती गरिनुहुन्न," उनले भने ।