पोखराका पर्यटक कोही फर्कंर्दै कोही प्रतीक्षामा

रासस

शुक्रबार, १४ चैत्र २०७६, १३ : ०३
पोखराका पर्यटक कोही फर्कंर्दै कोही प्रतीक्षामा

फाईल फोटो

काठमाडौँ ।  विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमणसँगै  नेपालमा पनि लक डाउन भएकाले यतिखेर पोखरामा रहेका विदेशी पर्यटक समस्यामा परेका छन् । होटेल तथा रेष्टुरेन्ट बन्द भएका कारण उनीहरूलाई खान बस्न पनि मुस्किल भएको छ । अलपत्र परेका आफ्ना देशका नागरिकलाई स्वदेश फर्काउनका लागि राजदूतावासमार्फत पहल भइरहेको छ ।   

फ्रान्सको राजदूतावासको पहलमा बिहीबार मात्रै पोखरा भ्रमणमा आएका उक्त देशका ५८ जना नागरिकलाई बुद्ध एयरको विमानमार्फत काठमाडौँ लगिएको पर्यटक प्रहरी कार्यालय पोखराका प्रहरी नायब निरीक्षक रवीन पाण्डेले जानकारी दिनुभयो । “पोखरामा रोकिएका विदेशी पर्यटकलाई स्वदेश फिर्ता गर्न सम्बन्धित देशका राजदूतावासले पहल जारी राखेका छन्”, उहाँले भन्नुभयो, “हालसम्म पोखरामा अलपत्र परेका २०० विदेशी पर्यटक सम्पर्क आइसकेका छन् ।”

पोखरामा लगभग २५० विदेशी पर्यटक रहेको बताइएको छ । विदेशी पर्यटक अलपत्र परेको भन्दै उनीहरूलाई काठमाडौँसम्म पुग्ने व्यवस्था मिलाउन पर्यटन सम्बद्ध सङ्घसंस्थाले पहल गरेका छन् ।पोखरा पर्यटन परिषद्को नेतृत्वमा बिहीबार जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगी पोखरामा रोकिएका पर्यटकलाई काठमाडौँसम्म पुग्ने व्यवस्था मिलाउन आग्रह गरिएको परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो । पदमार्ग क्षेत्रमा रोकिएका झन्डै १०० पर्यटक आज पोखरा ल्याइने उहाँले जानकारी दिनुभयो । “घान्द्रकु र झिनुमा रोकिएका ६० पर्यटक पोखरा ल्याउन आज दुई गाडी पठाइसकिएको छ”, उहाँले भन्नुभयो, “पदमार्गअन्तर्गत नै तिखेढुङ्गा, स्याउली बजार, नयाँ पुलमा रोकिएका पर्यटकका लागि अरु दुई वटा गाडी पठाइएको छ ।” 

पर्यटन सम्बद्ध सङ्घसंस्थाले पोखरामा लकडाउनका कारण होटेल तथा रेष्टुरेन्ट बन्द भएकोले पर्यटकलाई सहज होस् भनेर बिहीबारैदेखि छवटा रेष्टुरेन्ट सञ्चालन गर्ने निर्णय गरिएको रेष्टुरेन्ट एण्ड बार एसोसिएशन अफ नेपाल (रेवान) पोखराका अध्यक्ष भीमसेन भुजेलले जानकारी दिनुभयो ।    जिल्ला प्रशासन कार्यालय कास्कीसँगको छलफलपछि रेवान पोखराले लेकसाइडका अम्मटस्थित माउण्ट कैलाश रिसोर्ट र ग्रेट वाल रेष्टुरेन्ट, बाराही चोकस्थित मुनडान्स रेष्टुरेन्ट, गौरीघाटस्थित होटल ग्लासिएर, सेन्टर प्वाइन्टस्थित सम्राट तन्दुरी तथा बिरौटास्थित ड्याडिज किचनबाट पर्यटकलाई सेवा दिने निर्णय भएको छ ।

तोकिएका रेष्टुरेन्टमध्ये ग्रेटवालले चाइनिज खाना, सम्राट तन्दुरीले इन्डियन तथा बाँकी रेष्टुरेन्टमा सबैखाले खानाका परिकार पाइने उहाँले जानकारी दिनुभयो । रेष्टुरेन्टले कोरोना सङ्क्रमणबाट जोगिने गरी मास्क, स्यानिटाइजर तथा अन्य आवश्यक सतर्कता अपनाउँदै ग्राहकलाई सेवा दिने रेवान पोखराले जनाएको छ ।

पदयात्रामा गएका विदेशी पर्यटक विभिन्न पदमार्ग रोकिएको थाहा हुनासाथ उनीहरूलाई त्यहाँबाट उद्धार गर्न ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले आवश्यक पहल गरिरहेको अध्यक्ष हरि भुजेलले बताउनुभयो ।

हिमाल पारीको जिल्ला मुस्ताङ क्षेत्रमा पदयात्रामा गएर रोकिएका ५८ पर्यटक र एक बेनीबाट गरी ५९ जनालाई बिहीबार बसमार्फत काठमाडौँ लगिएको उहाँले जानकारी दिनुभयो । “विदेशी पर्यटक फरक फरक देशका छन्, कतिपय देशका त एक दुईजना मात्रै छन्”, उहाँले भन्नुभयो, “सबै पर्यटकमा जहाज चाटर्ड गरेर जान सक्ने क्षमतासमेत नरहेका कारण उनीहरूलाई बसमार्फत काठमाडौँ पु¥याउने व्यवस्था गरिनु आवश्यक छ ।”

लकडाउनसँगै पोखरामा रहेका आफ्ना देशका नागरिकलाई काठमाडौँसम्म लैजानका लागि सम्बन्धित देशका राजदूतावासबाट पहल भएका अवस्थामा उनीहरूलाई पठाउन सकिने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभयो ।