कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका क्वारेन्टाइनमा

रासस

विहीबार, १३ चैत्र २०७६, १४ : ०५
कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका क्वारेन्टाइनमा

काठमाडौँ । कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी युवतीसँगै सउदी एयरवेजको विमानबाट क्युआर ६५२ उडानबाट नेपाल आएका यहाँ दुई युवालाई क्वारेन्टाइनमा पठाइएको छ । पाँचथरको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका ती युवालाई बुधबार साँझ प्रदेश सरकारले मोरङको मिक्लाजुङमा निर्माण गरेको क्वारेन्टाइनमा पठाएको हो । 

सामाजिक सञ्जालमा क्युआर ६५२ उडानबाट कोरोनाभाइरस सङ्क्रमित युवतीसँगै आएका युवाबारे विवरण सार्वजनिक भएपछि प्रदेश सरकारको पहलमा उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको हो । उनीहरु उक्त उडानबाटै नेपाल आएको पुष्टि भएको छ । 

उनीहरुका परिवारलाई होम क्वारेन्टाइनमा बस्न स्थानीय प्रशासनले भनेको छ । सामाजिक सञ्जालमा उक्त उडानबाट  पाँचथरका तीन युवा नेपाल आएको चर्चा भएको थियो । तीमध्ये एक जना झापामा बसोबास गर्दैआएको र उनी क्वारेन्टाइनमा बसिसकेका छन् । सामाजिक सञ्जालमा यस प्रकारको चर्चापछि प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा दुवै युवालाई क्वारेन्टाइन पठाइएको हो । 

एम्बुलेन्सबाट उनीहरुलाई मोरङ पु¥याइएको हो । दुवै युवाको परिवारलाई विशेष निगरानीमा ‘होम क्वारेन्टाइन’मा राखिएको छ र तिनको स्थानीय स्वास्थ्यकर्मीले निगरानी गर्ने भएका छन् । दुवैमा कोभिड–१९ को सङ्क्रमणबारे शीघ्र स्वास्थ्य परीक्षण गरिने मन्त्री आङ्बोले जानकारी दिनुभयो ।