चिनियाँ कम्पनीले दियो दुई हजार थान कोरोना जाँच्ने किट्स

पत्रपत्रिकाबाट

विहीबार, १३ चैत्र २०७६, ०८ : १९
चिनियाँ कम्पनीले दियो दुई हजार थान कोरोना जाँच्ने किट्स

काठमाडौँ । चीनको बेइजिङ साभन्त बायो टेक्नोलोजीले नेपाललाई दुई हजार थान कोरोना भाइरस जाँच्ने उपकरण (किट्स) निःशुल्क उपलब्ध गराएको छ । 

‘कोरोनाभाइरस एन्टिजिन डिटेक्सन रिएजेन्ट टेष्टिङ किट्स’ बेइजिङबाट कम्पनीले नै ल्हासा पठाएको छ । त्यहाँबाट नेपाली महावाणिज्य दूतावासले चाँडै स्थलमार्गबाट नेपाल ल्याउने प्रबन्ध गर्नेछ ।  उत्पादक कम्पनीका महाप्रबन्धक वाङ गुओपिङले बुधबार उक्त सामग्री बेइजिङस्थित नेपाली दूतावासमा कार्यबाहक नेपाली राजदूत सुशीलकुमार लम्साललाई हस्तान्तरण गरेका छन् । 

नेपाली दूतावासका अनुसार तीस हजार अमेरिकी डलर (करिब ३६ लाख नेपाली रुपैयाँ) बराबरको किट्स नेपाललाई उक्त कम्पनीले सहयोग गरेको हो ।  हस्तान्तरण समारोहमा बेइजिङ नगरपालिकाका वाणिज्य ब्युरोका थान छङ्हाइ र बेइजिङ काठमाडौँ अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक सेवा केन्द्रका निर्देशक लिओ जिआन्ली पनि सहभागी थिए । 

नेपाली दूतावासको प्रयासमा कम्पनीले सहयोग गरेको हो । यसलाई दूतावासले नेपाल चीन मैत्रीको ‘उत्कृष्ट उदाहरण’ भनेको छ । नेपालले चीन सरकारलाई सहयोगको सूची पनि पठाइसकेको छ । सूचीअनुसारका सामग्री आउन भने समय लाग्नेछ  । नयाँ पत्रिका दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस