हेलो डक्टर हटलाइनमा सोधपुछ गर्ने क्रम बढ्दै

रासस

सोमबार, १० चैत्र २०७६, १२ : २०
हेलो डक्टर हटलाइनमा सोधपुछ गर्ने क्रम बढ्दै

फाईल फोटो

काठमाडौं । के तपाईं कोरोना भाइरसको सङ्क्रमण भयो कि भन्ने चिन्तामा हुनुहुन्छ । यदि त्यस्तो छ भने तत्कालै अस्पतालको खोजीमा भौँतारिनु पर्दैन । घरमा नै बसेर ०६१–५२४०७४ मा फोन गर्नुहोस्, त्यहाँ तपाईंको स्वास्थ्य समस्या बुझेर आवश्यक परामर्श दिने चिकित्सकहरु बसिरहनुभएको छ ।

चिकित्सकको परामर्शपछि मात्रै तत्काल अस्पताल जानुपर्ने वा घरमा नै बसेर आराम गर्दा हुने हो, एउटा निर्णयमा पुग्नुहोस् । सङ्क्रमणका कारण विश्वलाई नै त्रसित बनाइरहेका अवस्थामा सर्वसाधारणलाई स्वास्थ्य समस्यामा परामर्श दिनका लागि गण्डकी प्रदेशमा आइतबारदेखि ‘हेलो डक्टर कक्ष’ सञ्चालनमा ल्याइएको छ । प्रत्येक दिन बिहान ८ देखि दिउँसो ५ बजेसम्म दुईजना चिकित्सकसहित उक्त हटलाइन सेवा सञ्चालनमा ल्याइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

कक्ष सञ्चालनसँगै ठाउँठाउँबाट सर्वसाधारणले सोधपुछ गरी चिकित्सकीय परामर्श लिइरहेको उहाँले बताउनुभयो । सङ्क्रमणको सम्भाव्य जोखिमीलाई दृष्टिगत गरी गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा एक सय ११ आइसोलेशन श्यया तयारी अवस्थामा राखिएको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १० श्ययाको आइसोलेशन कक्ष तयार गरिएको छ । त्यस्तै मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक मेमोरियलमा ३० र जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँमा ३० श्ययाको आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको निर्देशक शर्माले जानकारी दिनुभयो ।

त्यस्तै स्याङ्जा जिल्ला अस्पतालमा चार, पर्वत जिल्ला अस्पतालमा तीन, धौलागिरि अञ्चल अस्पताल बागलुङमा चार श्ययाको आइसोलेशन कक्ष तयार गरिएको छ । निर्देशनालयअन्तर्गत प्रदेशका विभिन्न आठ स्थानमा स्वास्थ्य सहायता कक्षमार्फत सेवा प्रवाह भइरहेको उहाँले जानकारी दिनुभयो । पिपिई, सानिटाइजर, मास्क, गन थर्मोमिटरलगायत सामान पर्याप्त नहुँदा भने ती स्वास्थ्य सहायता कक्षलाई अपेक्षित प्रभावकारी बनाउन नसकिएको उहाँले बताउनुभयो । स्वास्थ्यप्रतिको सजगताका लागि सर्वसाधारण अस्पतालमा आउने क्रम भने बढिरहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिनुभयो ।